बुटवल।नेवारी समुदायको मौलिक संस्कार र संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ बुटवलमा नेवारी कन्याहरूको सामूहिक इही (बेलिविवाह) तथा क्याटापूजा सुरु भएको छ।

श्री नेवाः सेवा समितिको आयोजनामा देविनगरस्थित भूपूसैनिक सभा हलमा दुईदिने सामूहिक इही तथा क्याटापूजा कार्यक्रम शुभारम्भ गरिएको हो। नेवारी पण्डितद्वारा विधिपूर्वक सामूहिक रूपमा गरिने यस संस्कारले खर्च कम हुनुका साथै परम्परा जगेर्ना गर्न सहयोग पुग्ने समितिका अध्यक्ष डिल्लीकुमार श्रेष्ठले बताए।

कार्यक्रमको अवसरमा कन्या र अभिभावकसहितको झाँकी भूपूसैनिक सभा हलबाट देविनगर समितिको सचिवालयसम्म पुगेर पुनः सभा हलमै फर्किएर समापन गरिएको संयोजक अञ्जु श्रेष्ठले जानकारी दिइन्। इही संस्कारमा मूल कन्याका कजि कन्या युनिसा श्रेष्ठ, अभिभावक युवराज श्रेष्ठ र सीमा श्रेष्ठसहित सहभागीहरूले विधिपूर्वक पूजा सम्पन्न गरेका थिए।

नेवारी पण्डित हरिशरण राजोपाध्याय र उनकी धर्मपत्नी पद्मा राजोपाध्यायद्वारा विधिविधानअनुसार पूजा–पाठ गराउँदै पहिलो दिनको कार्यक्रम सम्पन्न गरिएको समितिका सचिव लक्ष्मण श्रेष्ठले बताए।
कार्यक्रममा बोल्दै समितिका पूर्वअध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेवारी संस्कृतिमा इही संस्कारको विशेष महत्व रहेको उल्लेख गर्दै यसले कन्यालाई जीवनका कर्म, संस्कार र अनुशासन सिकाउने परम्परागत मान्यता रहेको बताए।
यस वर्षको सामूहिक इही तथा क्याटापूजामा ६२ जना कन्या र ११ जना बालक सहभागी भएको संयोजक देवकुमार श्रेष्ठले जानकारी दिए। कार्यक्रममा रुपन्देहीसहित नेपालगञ्ज, स्याङ्जा, गुल्मी, अर्घाखाँचीलगायत विभिन्न जिल्लाबाट सहभागिता रहेको उनले बताए।



