बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई पूर्वआप्रवासी नेपालीहरूले बलियो साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार बुटवलमा आयोजित भेटघाट कार्यक्रममा पूर्वआप्रवासीहरूले देशको विकास र समृद्धिका लागि कांग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको उल्लेख गर्दै त्यसका लागि कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको बताए। उद्योगी व्यवसायीलाई साथ दिँदा यस क्षेत्रको औद्योगिक विकासले गति लिने विश्वाससमेत उनीहरूले व्यक्त गरे।
नेपाली कांग्रेस पूर्वआप्रवासी समन्वय विभाग, रुपन्देहीले प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पौडेलसँग भेटघाट कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा पूर्वआप्रवासीहरूको योगदान र एकताले कांग्रेसको लोकतान्त्रिक आन्दोलनलाई अझ सशक्त बनाएको धारणा व्यक्त गरिएको थियो।
कार्यक्रममा बोल्दै उम्मेदवार चुन्नप्रसाद पौडेलले समुन्नत नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न नेपाली कांग्रेसको जित अनिवार्य रहेको बताए। कांग्रेसका प्रतिनिधिहरू विजयी भए मात्र लोकतान्त्रिक मूल्य, राजनीतिक स्थायित्व र विकासको बाटो खुल्ने उनको भनाइ थियो।
“आम नेपाली जनतामा कांग्रेस सभापति गगनकुमार थापा प्रधानमन्त्री बनेको देख्ने चाहना छ, त्यसका लागि कांग्रेस उम्मेदवारलाई जिताउन आवश्यक छ,” पौडेलले भने, “गगन थापाको नेतृत्वमा बन्ने सरकारले देशको मुहार फेर्न सक्छ भन्ने विश्वास हामीमा छ।”
देशमा बढ्दो युवा पलायन गम्भीर चुनौती बनेको उल्लेख गर्दै पौडेलले स्वदेशमै रोजगारी सिर्जना, विकासका गतिविधिमा तीव्रता र अर्थतन्त्र चलायमान बनाउने आफ्नो प्राथमिकता रहेको बताए। कांग्रेसमा युवापुस्ताको सक्रिय सहभागिता बढ्दै गएको उल्लेख गर्दै त्यसलाई संस्थागत गर्न मतदाताको साथ आवश्यक रहेको उनले बताए। साथै, पूर्वआप्रवासीहरूको सीप, अनुभव र योगदान राष्ट्र निर्माणका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।
त्यस अवसरमा नेपाली कांग्रेस रुपन्देही–२ का सभापति तथा निर्वाचन परिचालन मूल समितिका संयोजक प्रजापाल गिरीले उम्मेदवार चुन्नप्रसाद पौडेल इमानदार, प्रतिष्ठित र विकासप्रेमी नेता भएको बताए। “उहाँ सरल स्वभावका, नैतिकवान र समाजप्रति समर्पित नेता हुनुहुन्छ। औद्योगिक विकासदेखि सामाजिक सेवासम्म उहाँको योगदान उल्लेखनीय छ,” गिरीले भने।
कार्यक्रममा नेपाली कांग्रेस पूर्वआप्रवासी समन्वय विभागको ऐतिहासिक योगदानबारे पनि चर्चा गरिएको थियो। विभागका रुपन्देही अध्यक्ष लालमणि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य यदुनाथ पाण्डे, प्रदेश अध्यक्ष माधव भुसाललगायत वक्ताहरूले कांग्रेस उम्मेदवार चुन्नप्रसाद पौडेललाई बलियो साथ रहने र उनको जितका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए।



