बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता दिन आगामी निर्वाचन निर्णायक हुने नेपाली काँग्रेस लुम्बिनी प्रदेश निर्वाचन परिचालन समितिले जनाएको छ । समितिले पार्टीका नेता–कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचन अभियानमा सक्रिय हुन आह्वान गरेको छ ।

बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत लुम्बिनी प्रदेशका १२ जिल्लाका २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा केन्द्रित भई उम्मेदवारको पक्षमा सकारात्मक माहोल निर्माण गर्न निर्देशन दिइएको हो ।
कार्यक्रममा बोल्दै निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले जनताको अपेक्षा पूरा गर्न काँग्रेस पुनः जिम्मेवारीसाथ अघि बढ्ने दाबी गरे । उनले काँग्रेसले ऐतिहासिक रूपमा लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको उल्लेख गर्दै संविधान, संघीयता, गणतन्त्र र समावेशी व्यवस्थाको संरक्षण काँग्रेसको मुख्य प्राथमिकता रहेको बताए ।
खनालले देशभित्र तथा विदेशमा रहेका लोकतन्त्रप्रेमी नागरिक, नागरिक समाज, युवा, बुद्धिजीवी तथा पार्टीका सम्पूर्ण पंक्तिलाई आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन एकताबद्ध हुन आग्रह गरे ।
उनका अनुसार पछिल्ला वर्षहरूमा देखिएको राजनीतिक अस्थिरता, आर्थिक चुनौती र सुशासनप्रतिको जनअसन्तुष्टिको समाधान काँग्रेसको नेतृत्वबाट मात्रै सम्भव छ । यसका लागि पार्टीले संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा तल्लो तहसम्म केन्द्रित अभियानलाई तीव्र बनाएको उनले बताए ।
बदलिँदो राजनीतिक परिस्थितिमा काँग्रेसको भूमिका अझ जिम्मेवार र संवेदनशील हुनुपर्ने उल्लेख गर्दै खनालले अनुशासित, मर्यादित र जनमुखी निर्वाचन अभियान सञ्चालन गर्न पार्टी पंक्तिलाई निर्देशन दिए । उनले आगामी निर्वाचनलाई लोकतन्त्रको रक्षा, राजनीतिक स्थायित्व र समृद्धिको लक्ष्य हासिल गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।



