बुटवल । बुटवल उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान यस वर्ष पनि सञ्चालन गर्ने भएको छ ।

उपमहानगरपालिकाले माघ अन्तिम साता कक्षा ६ मा अध्ययनरत बालिका तथा किशोरीहरूलाई लक्षित गर्दै विद्यालयमै पुगेर खोप प्रदान गर्ने तयारी गरेको हो । बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखाका फोकल पर्सन कल्पना भुसालका अनुसार माघ २६ गतेदेखि ३० गतेसम्म पाँच दिन सञ्चालन हुने अभियानमा करिब २ हजार २०० बालिकालाई एचपिभी खोप लगाइनेछ । खोप १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई लक्षित गरिएको उनले जानकारी दिइन् ।
भुसालका अनुसार खोप विद्यालयमै पुगेर दिइने भएकाले बालिकाहरूलाई सेवा लिन सहज हुने छ । यस अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । सरकारले एचपिभी खोपलाई नियमित खोप कार्यक्रमअन्तर्गत समावेश गर्ने तयारी गरिरहेको जनाइएको छ ।
गत वर्ष कक्षा ६ देखि १० वर्ष उमेर समूहका बालिकालाई खोप लगाइएको भए पनि अबदेखि हरेक वर्ष कक्षा ६ मा अध्ययन गर्ने बालिकालाई अनिवार्य रूपमा खोप दिने गरी नयाँ गाइडलाइन तयार गरिएको छ । उपमहानगरपालिकाले अभिभावक तथा विद्यालय प्रशासनलाई अभियानमा सहयोग गर्न आग्रह गर्दै समयमै खोप लगाउन अनुरोध गरेको छ ।



