काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश अन्तिम सुनामीको तयारीमा रहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै सभापति लामिछानेले आफु अब स्वास्थ्य भएर चुनावी प्रचारमा सक्रिय हुने जानकारी दिदै गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा रहेको बताएका हुन् ।

उनले भनेका छन्- ‘गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ। मेरो खुला आग्रह छ—अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानाे संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की स्वीकार्दैनौं ।’
लामिछानेले फागुन २१ कुनै सामान्य मिति नभएको बताउदै फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनुपर्ने बताएका छन् ।
उनले यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुने उल्लेख गर्दै केही थान बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा अब मतदाताको भएको बताएका छन् ।
उनले आफ्नो स्वास्थ्य बारे भनेका छन्- सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केहि आरम पछि आजबाट म सार्वजनिक जीवनमा फर्कँदैछु । र यो ऐलान, संकल्प र प्रतिवद्धताका साथ फर्कँदैछु कि देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ । परिवर्तनको यो इतिहास नेपाली जनताले शानदार उत्सवका रुपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्नेछन् ।’
सभापति लामिछानेले आफु सिंहदरबार पुग्न नभई सिंहदरबार बदल्न मत मागेको बताउदै भनेका छन्- ‘अपदस्त दुईतिहाइको सरकारले जबरजस्ती मेरो शरिरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशैभरीका अदालतहरु धाउदा धाउदा थाहा छैन म देशका कति ठाउँमा पुग्न सक्छु तर मेरो प्रयास बढीभन्दा बढी जनसमूदायसँग प्रत्यक्ष संवादकै लागि हुनेछ । म सिंहदरवार पुग्न होइन सिंहदरवार बदल्न माग्दैछु घण्टीमा भोट । दलहरुका मसिहाहरुले राज्यका हरेक धमनीमा भरेको बिष निकाल्न माग्नेछु तपाइँको भोट। एकाध पुल, एकाध भवन र एकाध सडकका तस्वीर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुची छैन । कुशासनको मुख्यालय भएको सिंहदरवारबाट नै निलो क्रान्ति सुरु गर्ने प्रष्ट म्याण्डेट बिना हामी हार्नु र जित्नुको कुनै महत्व हुनेछैन । वर्षौंअघि रोपिएको अस्थिरताको बिउ हुर्केर ठूलो वृक्ष बनेको छ। यस पटक यसको जरो नउखेली कहीँ कतै केही बदलिँदैन ।’
लामिछानेले देशको भविश्य बदल्ने क्रान्तिका लागि आफु थप त्याग र कठोर भन्दा कठोर तपस्याका लागि विल्कुल तयार रहेको बताउदै देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यहि निधारमा ताकेर गोली ठोक्नेहरु विरुद्ध क्रान्तिको घण्टी बजिसकेको बताएका छन् ।



