कोशी पहाडदेखि सुदूरपश्चिम-कर्णाली भ्याएर फेरि झापा पुगे बालेन

by समतल अनलाइन
132Shares

झापा।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पछिल्लो समय देशव्यापी चुनावी अभियानमा सक्रिय देखिएका छन्। कोशी प्रदेशका पहाडी जिल्लाबाट सुरु गरेर सुदूरपश्चिम र कर्णाली प्रदेश हुँदै सोमबार पुनः आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा आइपुगेका छन् ।

चुनावी प्रचारप्रसारका लागि सोमबार बालेन्द्रसहितको टोली झापा गएको उनका सल्लाहकार कुमार बेनले बताए । शाह देश दौडाहमा रहेका बेला झापा– ५ मा उनकी पत्नी सबिना काफ्लेले घरदैलो जारी राखेकी छिन् । गृहजिल्लामा फर्किएसँगै उनी मतदाता भेटघाट, घरदैलो अभियान र स्थानीय मुद्दामा केन्द्रित कार्यक्रमहरूमा सक्रिय हुने तयारीमा छन्।

शाहले सुरुमा कोशी प्रदेशका पहाडी जिल्लाहरूको यात्रा गर्दै स्थानीय नागरिक, युवाहरू र कार्यकर्तासँग प्रत्यक्ष संवाद गरेका थिए। विकासका असमानता, रोजगारीको अभाव, शिक्षा र स्वास्थ्य सेवामा देखिएको पहुँचको समस्या उनका संवादका मुख्य विषय बने। पहाडी भूगोलमा सम्भावना हुँदाहुँदै पनि राज्यको ध्यान नपुगेको गुनासो सुन्दै उनले ‘स्थानीय आवश्यकता अनुसारको नीति र इमानदार नेतृत्व’ रास्वपाको प्राथमिकता रहेको स्पष्ट पारे।

कोशी पहाडको यात्रापछि बालेन्द्र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश पुगे। यी दुवै प्रदेशलाई लामो समयदेखि राज्यका विकास योजनामा पछाडि पारिएको क्षेत्रका रूपमा लिइन्छ। त्यहाँको भ्रमणका क्रममा उनले सडक, स्वास्थ्य, शिक्षा र रोजगारीका सवालमा नागरिकका पीडा नजिकबाट बुझे।

स्थानीय अगुवा, किसान, महिला समूह र युवाहरूसँगको भेटघाटमा उनले भने, ‘राजनीति सत्ता प्राप्तिको मात्र साधन होइन, जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने माध्यम हुनुपर्छ।’ उनका यी अभिव्यक्तिले वैकल्पिक राजनीतिप्रति आशा राख्ने मतदातालाई उत्साहित बनाएको देखिन्थ्यो।

You may also like

This will close in 0 seconds