निर्वाचन आचारसंहिताको अनुगमनमा कडाई, १२० वटा कन्टेन्ट उत्पादकलाई कारवाहीको सिफारिस

by समतल अनलाइन
51Shares

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आचारसंहिताको नियमित अनुगमन गरिरहेको जनाएको छ।

जिल्लास्तरमा आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जानकारी दिएको छ। आर्थिक बाहेकका विषयमा सहायक प्रमुख जिल्ला अधिकारी र आर्थिक विषयमा प्रमुख कोष नियन्त्रक वा कोष नियन्त्रकलाई अनुगमनको जिम्मेवारी दिइएको छ।

आयोगका अनुसार हालसम्म आचारसंहिताविपरीत सूचना उत्पादन तथा सम्प्रेषण गर्ने १२० वटा कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अनुसार कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको छ। त्यसैगरी ६ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अनुसार कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा सिफारिस गरिएको छ।

त्यस्तै १५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ अनुसार कारबाहीका लागि प्रेस काउन्सिल नेपालमा र ३४ वटालाई निर्वाचन आचारसंहिता, २०८२ अनुसार कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले जनाएको छ।

आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या, भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्ति तथा संस्थामाथि निगरानी गर्न आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन इकाई पूर्ण रूपमा क्रियाशील रहेको पनि आयोगले स्पष्ट पारेको छ।

You may also like