काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई मन्त्री बनाउन जेनजीका अगुवाहरूले दबाब दिएको बताएकी छन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार गठनका क्रममा जेनजीका अगुवाहरूले केही व्यक्तिलाई अनिवार्य रूपमा मन्त्री नियुक्त गर्नुपर्ने दबाब दिएको र त्यसैअनुसार निर्णय गर्नुपरेको बताइन् ।
‘यहाँहरूलाई थाहा होला कि भदौ २७ गते शपथग्रहण गरेपछि मन्त्रिपरिषद् गठन भएन । हामी राजनीतिक दलको मान्छे होइन । हामीले बाहिरबाट खोज्नुपर्ने अवस्था आयो अन्तरिम सरकारको लागि । हामीलाई जेनजीको ठूलो प्रेसर थियो । जेनजीको मान्छेहरू ल्याऊ मन्त्रीमा भनेर आयो । त्यसमा महावीर पुन, कुलमान घिसिङको नाम आयो । हामीले मान्नुपर्ने अवस्था थियो । धेरैको नाम आयो । त्यसमध्येको केहीलाई मन्त्रिपरिषदमा ल्यायौँ,’ कार्कीले भनिन् ।
उनका अनुसार ती व्यक्तिहरू स्वयं सरकारमा आउन इच्छुक नभए पनि जेनजीको दबाबका कारण नियुक्ति गर्नुपरेको थियो । ‘तत् तत् व्यक्तिहरूले आउन मान्नुभएको थिएन मन्त्रिपरिषदमा । जेनजीको प्रेसर के थियो भने यिनीहरूले तिमीहरूले लिनैपर्छ । कुलमानलाई लिनैपर्छ, पुनलाई लिनैपर्छ सञ्चारमन्त्री तिनीहरूलाई पनि लिनैपर्छ भन्ने थियो,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
प्रधानमन्त्री कार्कीले हात जोडेरै उनीहरूलाई सरकारमा सहभागी गराएको बताउँदै बब्लु गुप्तालाई पनि मन्त्री बनाउन जेनजीले दबाब दिएको उल्लेख गरिन् । ‘पुनलाई अँगालो हालेर सुधन गुरुङले किताब बेच्दाबेच्दै सडकबाट ल्याएर आयो,’ उनले भनिन् ।
सरकारमा सहभागी गराउने बेलामै कुलमान घिसिङलगायतलाई निर्वाचनमा जान दिने सहमति भएको स्मरण गर्दै उनले भनिन्, ‘जेनजीको प्रेसर थियो ल्याउनुपर्ने, उनीहरूको प्रेसर थियो हामी चाहेको बेलामा निस्केर जान्छौँ भन्ने ।’
शिक्षामन्त्री पदबाट राजीनामा दिएका महावीर पुन असन्तुष्ट भएर सरकारबाट बाहिरिएको पनि प्रधानमन्त्री कार्कीले बताइन् । ‘पुन त रिसाएर हिँड्नुभएको हो । दुई/चार कानुन बनाउन भन्नुभएको थियो । ती कानुन राम्रै थियो । तर हामीले यो छोटो समयमा कानुन बनाएर सहयोग गर्न उहाँलाई सकेनौँ । मुलुककै लागि थियो तर उहाँलाई सहयोग गर्न सकेनौँ अनेक परिस्थिति हुन्छ,’ उनले भनिन् ।



