युएईले २६७ नेपाली कैदीलाई दियो माफी

by समतल अनलाइन
25Shares

काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई)ले आफ्नो ५४औँ राष्ट्रिय दिवस (ईद अल इतिहाद)को अवसरमा विभिन्न कारागारमा रहेका २६७ नेपाली कैदीको सजाय माफ गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी दिएको हो ।

‘युएईको ५४औँ राष्ट्रिय दिवसको अवसरमा २६७ नेपाली कैदीलाई माफी दिने निर्णयका लागि नेपाल सरकार युएई सरकारप्रति आभार प्रकट गर्दछ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

नेपाल र युएई बीचको मैत्रीपूर्ण सम्बन्ध र मानवीय नाताका कारण युएईले नेपाली कैदीहरूको सजाय माफ गर्ने निर्णय लिएको हो, जसको नेपालले उच्च मूल्याङ्कन गरेको छ। यसले नेपाल-युएई द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिइएको छ।

परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार अबुधाबीस्थित नेपाली दूतावासले बारम्बार गरेको अनुरोधको आधारमा युएईले यो निर्णय लिएको भनिएको छ। ‘कुनै पनि अन्य कानुनी मुद्दा वा प्रतिबन्ध नभएको खण्डमा माफी पाएका नेपाली नागरिकहरू युएईको कानुन अनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्,’ विज्ञप्तिमा भनिएको छ ।

You may also like