लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२ सुरु

by समतल अनलाइन
27Shares

बुटवल। नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही तथा कालिका मानव ज्ञान माध्यमिक विद्यालयको सह-आयोजनामा लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२ शनिबार बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयमा सुरु भएको छ।

प्रदर्शनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा कुलपति हार्तम्छालीले ललितकलाको महत्त्व र यसले राष्ट्र र समाजको भौतिक विकाससँगै संस्कृति, शान्ति र समृद्धि स्थापना गर्नमा भूमिका खेल्ने कुरा जोड दिए। उनले भने, ‘नेपालमा कलाको मर्मलाई अझ बढी बुझ्नुपर्ने आवश्यक छ र स्थानीय जनजीवनलाई बोध गराउने उद्देश्यले प्रादेशिक ललितकला प्रदर्शनीको आयोजना गरिएको हो।’

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पनि बुटवललाई ऐतिहासिक र सम्भावनायुक्त क्षेत्रको रूपमा प्रस्तुत गर्दै, कला माध्यमबाट यसका विविध पहल र विषयवस्तु पनि प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए । उनले पालिकाले यस्ता कार्यक्रमलाई सहयोग गर्न सधैँ तत्पर रहेको धारणा व्यक्त गरे।

लुम्बिनी प्रदेश समन्वय समिति संयोजक र प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले प्रदेश र स्थानीय तहहरूले आफ्नो क्षेत्रको ललितकलाको विकास र प्रवर्धनमा अग्रणी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए। उनले प्रदर्शनीमा लुम्बिनी प्रदेशका कला, संस्कृति, पर्यटन र जनजीवनका विविध पाटो समेटिएका कलाकृतिहरू समावेश गरिएको जानकारी दिए।

प्रदर्शनीमा समसामयिक चित्रकला, मूर्तिकला, शिल्प-हस्तकला, वास्तुकला, लोककला, बहु आयामिक र अन्य सिर्जनात्मक कला विधाका ११५ कलाकारका १५० भन्दा बढी कलाकृतिहरू प्रदर्शन गरिएको छ।

नेपाल पर्यटन बोर्ड यस प्रदर्शनीको कला प्रवर्धकको रूपमा समावेश रहेको छ। प्रदर्शनी माघ २१ गतेसम्म चल्नेछ।

You may also like