बुटवल। नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही तथा कालिका मानव ज्ञान माध्यमिक विद्यालयको सह-आयोजनामा लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२ शनिबार बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयमा सुरु भएको छ।

प्रदर्शनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा कुलपति हार्तम्छालीले ललितकलाको महत्त्व र यसले राष्ट्र र समाजको भौतिक विकाससँगै संस्कृति, शान्ति र समृद्धि स्थापना गर्नमा भूमिका खेल्ने कुरा जोड दिए। उनले भने, ‘नेपालमा कलाको मर्मलाई अझ बढी बुझ्नुपर्ने आवश्यक छ र स्थानीय जनजीवनलाई बोध गराउने उद्देश्यले प्रादेशिक ललितकला प्रदर्शनीको आयोजना गरिएको हो।’
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पनि बुटवललाई ऐतिहासिक र सम्भावनायुक्त क्षेत्रको रूपमा प्रस्तुत गर्दै, कला माध्यमबाट यसका विविध पहल र विषयवस्तु पनि प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए । उनले पालिकाले यस्ता कार्यक्रमलाई सहयोग गर्न सधैँ तत्पर रहेको धारणा व्यक्त गरे।
लुम्बिनी प्रदेश समन्वय समिति संयोजक र प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले प्रदेश र स्थानीय तहहरूले आफ्नो क्षेत्रको ललितकलाको विकास र प्रवर्धनमा अग्रणी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए। उनले प्रदर्शनीमा लुम्बिनी प्रदेशका कला, संस्कृति, पर्यटन र जनजीवनका विविध पाटो समेटिएका कलाकृतिहरू समावेश गरिएको जानकारी दिए।
प्रदर्शनीमा समसामयिक चित्रकला, मूर्तिकला, शिल्प-हस्तकला, वास्तुकला, लोककला, बहु आयामिक र अन्य सिर्जनात्मक कला विधाका ११५ कलाकारका १५० भन्दा बढी कलाकृतिहरू प्रदर्शन गरिएको छ।
नेपाल पर्यटन बोर्ड यस प्रदर्शनीको कला प्रवर्धकको रूपमा समावेश रहेको छ। प्रदर्शनी माघ २१ गतेसम्म चल्नेछ।



