वर्षा गराउने प्रणाली फेरि सक्रिय, वर्षा र हिमपातको सम्भावना

by समतल अनलाइन
39Shares

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली फेरि बलियो बनेर मौसम बदली गराउन लागेको छ । एक हप्ता अघि मङ्गलबार र बुधबार मौसम बदली भएर वर्षा र हिमपातले कोशी र मधेसबाहेकका क्षेत्रमा जनजीवन प्रभावित भएको थियो । अब फेरि नयाँ प्रणाली सक्रिय हुन लागेको हो ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार, आजदेखि सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको छ र सोमबारसम्म यो प्रणाली पश्चिम क्षेत्रको उच्च हिमाली र पहाडी क्षेत्रमा फैलनेछ।

मङ्गलबारसम्म भने मध्य नेपालसम्म फैलने सम्भावना छ। यस समयको प्रणालीले पूर्ण बादल ल्याउनेछ भने बाँकी क्षेत्रका मौसममा आंशिक बादल लागी चिसो बढ्नेछ।

अघिल्लो बुधबारको जत्तिको बलियो प्रणाली नभए पनि पश्चिम नेपालमा चिसो बढेको र हिउँ परेको अवस्था रहेको छ र नयाँ प्रणालीले मध्यमसम्म वर्षा र हिमपात गराउने अनुमान गरिएको छ।

यसपालि पश्चिमबाट मध्य नेपालसम्म असर गर्ने यो प्रणाली उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा गराउने छ।

कोशी र बागमतीका माथिल्लो भेगमा पनि असर गर्न सक्ने, तर तल्लो भाग र तराई क्षेत्रमा असर न्यून रहने बताइएको छ। काठमाडौँमा मङ्गलबार राति छिटपुट वर्षा हुने सम्भावना रहेको मौसमविद् अधिकारीले जनाएका छन्।

You may also like