नेपाल पत्रकार महासङ्घ रुपन्देहीद्वारा खेलकुद र फोटो पत्रकारिता पुरस्कार स्थापना

by समतल अनलाइन
30Shares

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाले पत्रकारिताका फरक–फरक दुई विधालाई प्रोत्साहन गर्ने उद्देश्यसहित खेलकुद पत्रकारिता पुरस्कार र फोटो पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । महासङ्घको १५औँ नियमित बैठकले दुवै पुरस्कारको राशि २५–२५ हजार रुपैयाँ रहने गरी कोष स्थापना गर्ने निर्णय गरेको हो । महासङ्घका अनुसार नेपाल पत्रकार महासङ्घ स्थापना दिवसको अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगिताबाट बचत भएको रकमबाट ५ लाख रुपैयाँको कोष निर्माण गरिनेछ, जसको ब्याजबाट खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिनेछ । उक्त पुरस्कार यसै वर्षको स्थापना दिवसको अवसरमा वितरण गरिने महासङ्घले जनाएको छ ।

गत पुस महिनामा बुटवल मण्डपमा सम्पन्न फोटो प्रदर्शनीबाट संकलित रकमबाट ५ लाख रुपैयाँको कोष निर्माण गरिएको छ । उक्त कोषको ब्याजबाट प्रत्येक वर्ष लुम्बिनी प्रदेशभरिका पत्रकारहरूले प्रकाशन गरेका फोटोमध्ये उत्कृष्ट एक जना पत्रकारलाई पुरस्कार प्रदान गरिनेछ । कोष निर्माणका लागि रुपन्देही उद्योग सङ्घले २ लाख रुपैयाँ सहयोग गरेको महासङ्घले जनाएको छ ।

बैठकमा महासङ्घका अध्यक्ष दिनेश पाण्डेले रुपन्देहीलाई लुम्बिनी प्रदेशका सबै जिल्लासँग भावनात्मक रूपमा जोड्ने उद्देश्यले प्रदेश स्तरीय पुरस्कार स्थापना गरिएको बताए । अग्रजहरूले रुपन्देहीलाई पत्रकारिताको मोफसल राजधानीको रूपमा स्थापित गरिसकेको उल्लेख गर्दै फोटो तथा खेलकुद पत्रकारितामा क्रियाशील पत्रकारहरूलाई यसले थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । बैठकले महासङ्घअन्तर्गत रहेको पत्रकार कल्याणकारी कोषलाई ३० लाख रुपैयाँ पु¥याउने निर्णय पनि गरेको छ । यसअघि २५ लाख रुपैयाँ रहेको कोषमा यस वर्ष थप ५ लाख रुपैयाँ वृद्धि गरिएको हो । उक्त कोषबाट कुनै पत्रकारको मृत्यु भएमा आश्रित परिवारलाई २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराइने महासङ्घले जनाएको छ ।

त्यसैगरी दुर्घटनामा परेका पत्रकारहरूको उपचार सहयोगसँगै महिला पत्रकार सुत्केरी पोषण खर्च र शिशु बचत योजना पनि निरन्तर सञ्चालन गरिने जनाएको छ । महासङ्घ रुपन्देही शाखामा आबद्ध महिला पत्रकार सुत्केरी हुँदा ५ हजार रुपैयाँ पोषण खर्च तथा उनका शिशुका नाममा ५ हजार रुपैयाँको बचत खाता खोलिने व्यवस्था गरिएको छ ।

यसैबीच, निर्वाचनका समयमा पत्रकार आचारसंहिता उल्लङ्घन र पत्रकार सुरक्षाका विषयमा अनुगमन गर्न अध्यक्ष दिनेश पाण्डेको संयोजकत्वमा महासङ्घका सल्लाहकार सदस्य रहेको अनुगमन समिति गठन गरिएको महासङ्घका सचिव सिपी खनालले बताए । बैठकले पत्रकार कल्याणकारी कोष कार्यविधि २०८२ तथा खेलकुद पत्रकारिता पुरस्कार र फोटो पत्रकारिता पुरस्कार कार्यविधि २०८२ पारित गर्दै अन्य पुरस्कारहरूलाई पनि थप व्यवस्थित गर्ने निर्णय गरेको छ ।

You may also like