काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आलोचनात्मक वा नकारात्मक टिप्पणी गर्ने व्यक्तिहरूलाई ब्लक गर्न थालेका छन् । ओलीको यस कदमले सामाजिक सञ्जालमा व्यापक बहस र विरोधको विषय बनाएको छ।

पत्रकार भानुभक्त आचार्यले २३ भदौको घटनासम्बन्धी माफी माग्न आग्रह गर्दा आफूलाई ब्लक गरिएपछि त्यसको विरोध गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘…गत भदौ २३ मा नालायकीका कारण मारिएका युवाहरूका बारेमा माफी माग्नका लागि मैले कमेन्ट गरेको थिएँ, तर आसेपासे खलकले मन थाम्न सकेनन् र मलाई ब्लक गरे।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हिमेश पन्तले पनि ओलीको फेसबुक पेजबाट आफूलाई ब्लक गरिएको जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘अन्ततः केपी ओलीले मलाई पनि ब्लक गरेछन्।’
कन्टेन्ट क्रिएटर नवराज पाण्डेले यसलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्दै भनेका छन्, ‘झोलेहरूले मलाई कति भुक्छस् भन्थे, उता मेरो भुकाइ केपी ‘बा’को कानसम्म पुगेछ, बुढाले ब्लक ठोकेछन् नि, हैट!’
यसै विषयमा केशव कोइरालाले ओलीको दोहोरो चरित्रमाथि प्रश्न उठाएका छन् । उनले भने, ‘केपी ओलीले सार्वजनिक बहसका लागि चुनौती दिने तर आफ्नै मतदाताको आलोचना नसुन्ने कुरा अजिब छ। मतदाताको आलोचना सुन्न नसक्नेले कसरी सार्वजनिक बहस गर्न सक्छ ?’
सामाजिक सञ्जालमा यस बारे भएको आलोचनालाई लिएर ओलीको सचिवालयले भने यसलाई व्यक्तिगत स्वतन्त्रताको विषय भएको उल्लेख गरेको छ ।



