रुपन्देही–२ मा कांग्रेसको चुनावी तयारी तीव्र, ३२ उपसमितीसहित मूल समिति गठन

by समतल अनलाइन
68Shares

बुटवल । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही–२ बाट नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेलको निर्वाचन अभियानलाई व्यवस्थित बनाउन ८ हजार ५६५ सदस्यीय मूल निर्वाचन समिति गठन गरिएको छ।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरिको नेतृत्वमा गठन गरिएको उक्त मूल निर्वाचन समितिको घोषणा तथा निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन समारोहमा औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

मूल समिति घोषणा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामबहादुर कार्कीले क्षेत्रीय सभापति गिरिको नेतृत्वमा ३२ वटा विभिन्न उपसमितीसहित मूल निर्वाचन समिति गठन गरिएको जानकारी दिए। उनले अहिले कांग्रेस एकताबद्ध भएर चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै आश्वासन बाँड्ने र सपना देखाउनेहरूलाई जनताले अब वास्तविकता देखाउने समय आएको बताए।

कार्कीले लुम्बिनी प्रदेशको राजधानी सार्न सहयोग गर्ने भन्दै पार्टी अध्यक्षस्तरबाटै बोलेका व्यक्तिहरू भोट माग्न आएमा ‘राजधानी गएर भोट माग्नुस्’ भन्न नेता–कार्यकर्तालाई आग्रह गरे।

रुपन्देही–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार चुन्नप्रसाद पौडेलले चुनावका बेला लोभ–लालच र अव्यावहारिक आश्वासन दिने प्रवृत्तिको आलोचना गरे। खानेपानी, रेल र जहाजजस्ता सम्भव नभएका आश्वासनबाट टाढा रहन सबैलाई आग्रह गर्दै उनले नेपाली कांग्रेस संघर्षको गर्भबाट जन्मिएको पार्टी भएको बताए। वि.सं. २००७ सालदेखि आजसम्म भएका सबै ठूला राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको उनको भनाइ थियो।

पौडेलले चुनावी प्रचारका क्रममा गालीगलौज नगरी सबैलाई दाजुभाइको रूपमा लिएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। “नेपाली कांग्रेस कसैलाई गाली गर्दैन, सबैलाई साथमा लिएर अघि बढ्छ,” उनले भने। गाली गरेर भोट नआउने उल्लेख गर्दै उनले सकारात्मक प्रचारमा जोड दिए।

उनले पूर्व नगर प्रमुख तथा नेता सूर्यप्रसाद प्रधान र पूर्व मन्त्री बालकृष्ण खाँडले यस क्षेत्रमा गरेका विकास निर्माणका कामहरूलाई जनतामाझ प्रभावकारी रूपमा लैजानुपर्ने बताए। उनीहरूले गरेका योगदान ओझेलमा परेको भन्दै ती कामहरूको निरन्तरता र अनुसरण गर्दै अघि बढ्ने अहिलेको आवश्यकता रहेको पौडेलले बताए। यसपटक पनि जनताले कांग्रेसलाई विश्वास गर्ने दृढ विश्वास उनले व्यक्त गरे।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरिले आसन्न प्रतिनिधि सभा निर्वाचनमा जनताले खोजेको चरित्र र नेतृत्व भएको उम्मेदवारका रूपमा चुन्नप्रसाद पौडेललाई अघि सारिएको बताए। उनले नेपाली कांग्रेसको ऐतिहासिक भूमिकाको स्मरण गर्दै वि.सं. २०७० सालको दोस्रो संविधान सभा निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा संविधान निर्माण सम्पन्न भएको उल्लेख गरे।

अघिल्ला चार सरकारले गर्न नसकेको ऐतिहासिक जिम्मेवारी कांग्रेसले पूरा गरेको भन्दै त्यसपछिका कांग्रेस नेतृत्वका सरकारहरू मुख्यतः निर्वाचन सम्पन्न गराउने जिम्मेवारीमा केन्द्रित रहेको उनको भनाइ थियो। सभापति गिरिले पछिल्ला सरकारहरूको असफल नीतिका कारण युवाहरू रोजगारीका लागि कतार, अमेरिका र युरोप पलायन हुन बाध्य भएकोप्रति दुःख व्यक्त गरे।

अब यी सबै समस्याको समाधान गर्ने समय आएको भन्दै कांग्रेस त्यसतर्फ केन्द्रित हुने उनले बताए। पार्टी एकताको सन्देश दिँदै उनले नेपाली कांग्रेस हाल “एक ढिक्का” भएर चुनावी मैदानमा उत्रिएको दाबी गरे। सिफारिस गरिएका नौ उम्मेदवारमध्ये जसले टिकट पाए पनि सबैले स्वीकार गरेर जिताउने प्रतिबद्धता गरेको उनको भनाइ थियो।

यसपटक कांग्रेसले आफ्नै प्रधानमन्त्रीको उम्मेदवारसहित १६५ वटै निर्वाचन क्षेत्रमा ‘रुख’ चिन्हमा मतदान गर्न पाउने वातावरण बनेको दाबीसमेत उनले गरे।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश रानाले देशभर बहुमत ल्याउँदै पार्टी सभापति गगन थापाको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै सबैलाई रुख चिन्हमा मतदान गर्न आग्रह गरे। लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जमुना ढकालले पनि कांग्रेसले बहुमत ल्याउने गरी सबै नेता–कार्यकर्ता एकजुट भएर माहोल बनाउनुपर्नेमा जोड दिइन्।

You may also like