काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् ।

माघ ५ गते जनकपुरमा आयोजित पार्टीको घोषणा सभाका क्रममा देब्रे खुट्टामा सामान्य चोट लागेको थियो । उक्त चोट बढ्दै गएपछि छालाको भित्री भागमा संक्रमण भएको उनका स्वकीय सचिव अभिनास आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण र चिकित्सकको सल्लाहअनुसार केही दिन अस्पतालमा नै भर्ना गरेर राखिएको हो ।
उक्त संक्रमण जोखिमयुक्त हुनसक्ने भएकाले अस्पतालमा चिकित्सकको निगरानीमा राखेर उपचार गर्न लागिएको उनले बताएका छन् ।
‘माघ ५ गते जनकपुरमा सम्पन्न कार्यक्रममा सभापति रवि लामिछानेज्युको देब्रे खुट्टामा लागेको सामान्य चोट समयसँगै बढेर हाल छालाको भित्री तहमा संक्रमण भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ। त्यसैअनुसार सभापतिज्यू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ,’ उनले भनेका छन् ।
निर्वाचनका बेला लामिछाने राजनीतिक रुपमा सक्रिय नभएको भन्दै विभिन्न टिकाटिप्पणी समेत भइरहेको थियो ।



