काँग्रेसको पार्टी र आयोगको आचार संहिता पालना गर्न सबै उम्मेदवारलाई निर्देशन

by समतल अनलाइन
50Shares

काठमाडौँ । नेपाली काँग्रेसले फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको प्रचार प्रसारमा पार्टी एक भएर जुटेको जानकारी दिएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले अहिलेसम्म भएका निर्वाचन केन्द्रित कार्यक्रम बारे जानकारी दिदै पार्टी एक भएर निर्वाचनमा होमिएको जानकारी दिएका हुन् ।

काँग्रेसले निर्वाचन प्रचार–प्रसारका क्रममा निर्वाचन आयोगको आचार संहितालाई पूर्ण रूपमा पालना गरिने र गलत संस्कृतिको विकास नहोस् र प्रतिस्पर्धा मर्यादित रहोस् भन्ने उद्देश्यले पार्टीले आन्तरिक रूपमा थप आचार संहिता निर्माण गरी मातहतका निकायहरूलाई कडाइका साथ पालना गर्न निर्देशन दिएको जनाएको छ ।

साथै विद्रोह गरेका केही नेताहरुले मनोनयन फिर्ता लिइसकेको र बाँकी रहेका थोरै स्थानमा पनि उम्मेदवारी स्थगन गरी पार्टीका अन्य उम्मेदवारहरूलाई विजयी बनाउन आह्वान गर्ने क्रम जारी रहेको प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।

साथै काँग्रेसमा पुराना नेताहरु पुनः जोडिने क्रम बढेको छ भने नयाँ प्रवेशको लहर पनि चलेको बताउदै अन्य दलका उम्मेदवार, समर्थक तथा कार्यकर्ताहरूको पार्टी प्रवेश निरन्तर बढिरहेको प्रवक्ता चालिसेले बताए । डोल्पाका अन्य पार्टीका उम्मेदवार दिल वहादुर विष्ट र जुनु भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिई नेपाली कांग्रेसमा प्रवेश गरेको उनले जानकारी दिए ।

विशेष महाधिवेशनपछि गठित नयाँ केन्द्रीय कार्यसमितिले अत्यन्त सीमित समयमा उम्मेदवार चयन, प्रचार र परिचालनका कार्यहरूलाई व्यवस्थित रूपमा सञ्चालन गरिरहेको बताउदै उनले प्रदेश, जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र हुँदै नगरपालिका-गाउँपालिका र वडा तहसम्म प्रचार प्रसार तथा परिचालन समिति गठनको कार्य अन्तिम चरणमा पुगेको बताए ।

काँग्रेसले चुनाव प्रचारका क्रममा पार्टीका नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गर्ने तथा व्यक्तिगत जीवनमा प्रवेश नगर्ने, मानव स्वतन्त्रताको सम्मान गर्न सबै १६५ उम्मेदवार तथा नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

साथै काँग्रेसले फागुन ७ गते जनकपुरधाममा विशेष सभाको आयोजना गर्ने भएको छ र भने केन्द्रीय स्तरको आमसभा अन्य क्षेत्रमा क्रमशः आयोजना गरिने प्रवक्ता चालिसेले जानकारी दिएका छन् । त्यस्तै उनले निर्वाचन केन्द्रित भएर समकालीन राजनीतिक, वैचारिक, नीतिगत तथा समसामयिक विषयमा प्रत्येक दुई दिनमा डबली संवाद कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

You may also like