काठमाडौँ । लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्येष्टि गरिएको छ । जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहकी १६ बर्सिया निशा बानियाँको शव अस्पतालबाटै अर्कै परिवारले लिएर अन्त्येष्टि गरेको हो ।

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।
रोजगारीको सिलसिलामा विगत दुई वर्षदेखि भारतको मुम्बईमा रहेका मृतकका आमाबुवा छोरीको मृत्युको खबर सुने लगत्तै नेपाल फर्किए । आज बिहान छोरीको अन्तिम संस्कारका लागि शव लिन अस्पताल पुग्दा त्यहाँ शव फेला पारेनन् ।
अस्पताल प्रशासनसँग बुझ्दा सोही समयमा सप्तरीकी अर्की एक समान उमेरकी किशोरीको शव परीक्षणका लागि अस्पतालमा राखिएको र ती किशोरीका परिवारले आइतबार झुक्किएर शव लिएको र सोही दिन अन्त्येष्टिसमेत गरिसकेको खुलेको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले शव राख्ने क्रममा ‘कोडिङ’ नगरिएका कारण कर्मचारीबाट गल्ती भएको स्वीकार गरे । उनले भने, ‘यो अस्पताल प्रशासनको गम्भीर लापरबाही हो, यसको छानबिन गरी दोषीलाई कारबाही गर्नेछौँ ।’
छोरीको अन्तिम पटक मुख देख्नसमेत नपाएपछि मृतकका बुबा पूर्णबहादुर बानियाँ भावविह्वल भएका छन् । शव हराएको विरोधमा आक्रोशित आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय गोलबजार घेराउ गर्नुका साथै लहान अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् ।
त्यस क्रममा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी दोषीलाई कारबाही र न्यायको मागसमेत गरेका छन् । इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार पीडित परिवार, अस्पताल प्रशासन र सरोकार भएका पक्षबीच वार्ताको तयारी भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।



