चितवन। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा अण्डाको माग बढेको छ। मागसँगै अण्डाको मूल्य पनि क्रमशः वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको हो।

सङ्घका अनुसार ठूलो अण्डा (३० वटा) को फार्म मूल्य अब ४९५ रुपैयाँ पुगेको छ। यसअघि ठूलो अण्डा प्रतिक्रेट ४६५ रुपैयाँमा बिक्री हुँदै आएको थियो। यसरी ठूलो अण्डाको मूल्यमा ३० रुपैयाँ वृद्धि गरिएको हो। त्यस्तै, मझौला अण्डाको फार्म मूल्य ४७५ रुपैयाँ तोकिएको छ, जुन यसअघि ४४५ रुपैयाँ थियो।
यसअघि गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यसबेला ठूलो अण्डा प्रतिक्रेट ५६५ रुपैयाँ र मझौला अण्डा ५५० रुपैयाँमा बिक्री भएको थियो।
सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार निर्वाचनको माहोल, सीमा क्षेत्रमा भएको कडाइ तथा आपूर्तिमा आएको असरका कारण अण्डाको मूल्य बढेको हो। साथै, अण्डा उत्पादन गर्ने कुखुराको सङ्ख्या घट्नु, विद्यालयहरू पुनः सञ्चालनमा आउनुजस्ता कारणले पनि माग बढेको उनले बताए।
हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ। यसअनुसार किसानको लागत मूल्य प्रतिक्रेट ५७४ रुपैयाँ ६ पैसा पर्न आउँछ। लागत मूल्य नजिक पुगेपछि फेरि अण्डाको मूल्य घट्दा किसान निरास बनेका थिए। अहिले मूल्य बढ्न थालेपछि किसानमा केही आशा पलाएको छ।
सङ्घले बजारको अवस्था हेरेर अण्डाको समर्थन मूल्य निर्धारण गर्दै आएको जनाएको छ।



