राष्ट्रिय सभा सदस्यको निर्वाचन आज, बिहान ९ देखि मतदान सुरु

by समतल अनलाइन
158Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदैछ। निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि मतदान सुरु भई दिउँसो ३ बजेसम्म चल्नेछ।

राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। तीमध्ये कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार हेमराज घिमिरे समयमै उम्मेदवारी दर्ता गर्न नआएपछि थापा निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ। यस्तै, एक जना सदस्य राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ। बाँकी १७ सदस्यका लागि आज निर्वाचन हुँदैछ।

आयोगका अनुसार सातवटै प्रदेशका तोकिएका मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष मतदाता हुन्छन्। यस निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिलाई १९ मतभार र प्रदेश सभा सदस्यलाई ५३ मतभार तोकिएको छ।
केही प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न राजीनामा दिएकाले उनीहरूको नाम मतदाता नामावलीबाट हटाइएको निर्वाचन आयोगले जानकारी दिएको छ।

निर्वाचन आयोगका अनुसार १८ पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन्। कांग्रेस र एमालेबीच भागवण्डा अनुसार कांग्रेसले ९ र एमालेले ८ सिटमा उम्मेदवारी दिएका छन्। बाँकी एक सिटमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार महन्थ ठाकुरलाई समर्थन गरिएको छ।

प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना तथा कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुँदैछन्।

भागवण्डा अनुसार कोशी प्रदेशमा कांग्रेसबाट सुनिलबहादुर थापा, एमालेबाट रोशनी मेचे र सोम पोर्तेल उम्मेदवार छन्। मधेश प्रदेशमा कांग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण तथा एमालेकी रेखा झा उम्मेदवार छन्।
बागमती प्रदेशमा कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेम दंगाल उम्मेदवार छन्। गण्डकी प्रदेशमा कांग्रेसबाट जगत तिमिल्सिना र एमालेबाट सम्झना देवकोटा उम्मेदवार रहेका छन्।
लुम्बिनी प्रदेशमा कांग्रेसबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी तथा एमालेबाट रामकुमारी झाँक्री उम्मेदवार छन्। कर्णाली प्रदेशमा कांग्रेसबाट ललितजंग शाही र एमालेबाट मिना रखाल उम्मेदवार छन्। सुदूरपश्चिम प्रदेशमा कांग्रेसका खम्मबहादुर खाती र एमालेकी लीला भण्डारी उम्मेदवार रहेका छन्।
यसैबीच, नेपाली कम्युनिस्ट पार्टीले सबै प्रदेशमा एकल उम्मेदवारी दिएको छ।

You may also like

This will close in 0 seconds