मधेशका मुद्दा फरक ढङ्गले उठाउन सर्लाहीबाट उम्मेदवार बनेँ : गगन थापा

by समतल अनलाइन
32Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा कार्यकर्तालाई निर्वाचन क्षेत्रमा खटिन आग्रह गरेका छन् । सर्लाही–४ का मतदातासँग भएको अन्तरक्रियामा उनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सक्रिय हुन भनेका हुन् ।

थापाले मधेसका मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न सर्लाहीबाट उम्मेदवार बनेको बताए । त्यहाँबाट निर्वाचित भए मधेस र सर्लाहीका मुद्दा संघीय संसद् र सिंहदरबारमा नयाँ तरिकाले उठाउने प्रतिबद्धता व्यक्त गरे।

आगामी पाँच वर्ष मधेसका मुद्दा संसद्मा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा फरक हुने उनको भनाइ थियो । उनले सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने दाबी गरे । आफ्नो उम्मेदवार बलियो छ भन्दै अरूलाई कमजोर नआँक्न पनि उनले आग्रह गरे।

जोखिम मोलेर नयाँ क्षेत्र रोजेको भन्दै उनले चुनाव जित्न सबैको मेहनत आवश्यक रहेको बताए। मतदाता र कार्यकर्तालाई विश्वास, माया र भरोसाका साथ अभियानमा लाग्न उनले आग्रह गरे ।

‘पार्टीभित्र सजिलो बाटो छोडेर अप्ठ्यारो बाटो रोजेर आएको छु। मलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरियो तर विशेष महाधिवेशनमा पार्टी कार्यकर्ताले दिएको साथले नै पार्टीभित्रै रहन सफल भएँ,’ उनले भने, ‘निर्वाचनमा पनि जोखिम उठाएको छु। काठमाडौँ–४ को सहजता छोडेर मधेस आएको छु। यो जोखिम पनि सबैको साथले पूरा हुन्छ भन्ने विश्वास छ।’

थापाले काठमाडौँ–४ बाट तीन पटक निर्वाचित गराउने मतदाताप्रति आफू ऋणी रहेको बताए । त्यहाँको सेवामा सधैँ समर्पित रहने पनि उनले बताए।

You may also like