निर्वाचन आयोगद्वारा समानुपातिक निर्वाचनका लागि डेढ करोड मतपत्र छपाइ

by समतल अनलाइन
61Shares

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ डेढ करोड मतपत्र छपाइ भएको जानकारी दिएको छ ।

आयोगले माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको छपाईमा हालसम्म डेढ करोड मतपत्रको छपाइ सकिएको जानकारी दिएको छ । आयोगले अब ५० लाख मतपत्र छपाइ हुन बाँकी रहेको बताएको छ ।

सो मतपत्र छपाइ सम्पन्न भए लगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्रको छपाइ कार्य सुरु हुनेछ । त्यसैगरी मनोनयन पत्र दर्ता प्रयोजनका लागि एक प्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पुन्याई सकिएको छ भने अन्य ३ प्रति मतपत्र छपाइ गर्ने कार्य आयोग परिसरमा सुचारु रहेको बताएको छ ।

त्यस्तै आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलबाट गत पौष १३ र १४ गते पेस भएका उम्मेदवारको बन्दसूचीको नामावली प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम माघ ४ गते सार्वजनिक गरिएको छ । उक्त नामावलीमा ५७ निर्वाचन चिन्हमा ६३ राजनीतिक दलबाट पेस भएका ३२१३ जना उम्मेदवारको नाम समावेश छ ।

बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरुको योग्यता सम्बन्धमा दावी विरोध गर्न चाहने मतदाताले माघ ५ देखि १० सम्म कार्यालय समयमा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोधमा उजुरी पेश गर्न सकिने व्यवस्था अनुसार उक्त कार्यक्रम जारी रहेको आयोगले जनाएको छ ।

You may also like