काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन सरकारले सबै शक्ति लगाएको बताएकी छन् ।

शुक्रबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवस तथा रजत महोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सरकार पूर्ण रूपमा सक्रिय रहेको बताइन्।
उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिइन् । चुनावमा कुनै पनि हिंसा नहोस् भन्ने सरकारको चाहना रहेको उनको भनाइ थियो।
‘निर्वाचन सफल पार्न सरकारले सबै शक्ति लगाएको छ ।’ प्रधानमन्त्री कार्कीले भनिन्,’चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, कोही पनि घाइते हुनु हुँदैन ।’
कठिन भौगोलिक अवस्था र प्रतिकूल परिस्थितिमा पनि राष्ट्र सेवामा सक्रिय रहनु सशस्त्र प्रहरीको पहिचान रहेको प्रधानमन्त्री कार्कीले उल्लेख गरिन्।
विगतका निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरेर काम गर्न उनले सशस्त्र प्रहरीका सकल दर्जालाई निर्देशन दिइन्। प्रधानमन्त्री कार्कीले बदलिँदो सुरक्षा चुनौतीलाई ध्यानमा राखेर संगठनलाई थप व्यावसायिक बनाउन आवश्यक रहेको बताइन्।



