काठमाडौँ ।निर्वाचन आयोगले चुनावका लागि राजनीतिक दल र उम्मेदवारको छुट्टै बैंक खाता खोल्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा दल र उम्मेदवारले निर्वाचनसम्बन्धी खर्चका लागि छुट्टै खाता खोलेर हिसाबकिताब राख्नुपर्ने व्यवस्था गरिएको हो ।
आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा उम्मेदवारले निर्वाचन खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट मात्रै खर्च गर्नुपर्ने उल्लेख छ ।
निर्वाचन खर्चका लागि जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था पनि गरिएको छ। यसरी तोकिएका पदाधिकारीको नामसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने प्रावधान छ ।
यस्तै, राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्चका लागि बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ। दलले तोकेको जिम्मेवार पदाधिकारीले सोही खाताबाट खर्च गर्नुपर्ने आचारसंहितामा उल्लेख छ ।
दलले निर्वाचनका क्रममा २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत मात्रै लिनुपर्ने व्यवस्था गरिएको छ।
कुनै व्यक्ति वा संस्थाबाट स्वैच्छिक सहयोगका रूपमा नगद प्राप्त भएमा सो रकमको रसिद वा भर्पाई दिनुपर्ने प्रावधान छ । दलका नाममा प्राप्त भएको रकम दलको खातामा र उम्मेदवारका नाममा प्राप्त भएको रकम उम्मेदवारको खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यी प्रावधान कार्यान्वयनका लागि आयोगले राष्ट्र बैंकलाई पत्राचार गरेको हो ।



