एभरेस्ट इङ्लिस माविमा अक्षरारम्भ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

by समतल अनलाइन
31Shares

बुटवल । रुपन्देहीको बुटवलमा रहेको एभरेस्ट इङ्लिस माध्यमिक विद्यालयमा अक्षरारम्भ तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार श्रीपञ्चमी तथा सरस्वती पूजाको अवसर पारेर विद्यालयले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा गत शैक्षिक वर्षको परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । साथै उत्कृष्ट विषय शिक्षक तथा दीर्घसेवा सम्मानअन्तर्गत शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । उहाँले पुरस्कृत तथा सम्मानित शिक्षक–विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै यस्ता पुरस्कारले थप हौसला मिल्ने बताउनुभयो । उहाँले अझै लगनशील भई मेहनत गर्न सुझाव दिनुहुँदै निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाले ठूलो शैक्षिक जनशक्ति उत्पादन गरेको उल्लेख गर्नुभयो । साथै निजी शैक्षिक संस्थाको विकासप्रति सरकार अझ गम्भीर हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

विद्यालयका प्राचार्य कृष्ण न्यौपानेको स्वागत मन्तव्यसहित सुरु भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका–८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका शाखा अधिकृत झविलाल विक, जिल्ला शिक्षा समन्वय इकाईका शाखा अधिकृत अमरबहादुर केसी, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली तथा शिक्षक पोषणकुमार आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

शिक्षक सरस्वती पाण्डे (सरु) को सञ्चालनमा भएको कार्यक्रममा शैक्षिक सत्र २०८१ मा विभिन्न कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने तथा विभिन्न विधाका प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसैगरी कक्षा १२ को बोर्ड परीक्षा, आधारभूत तह तथा प्रवेशिका परीक्षामा सहभागी भई ३.९ वा सोभन्दा माथि जिपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो । साथै विद्यालयमा १० वर्ष र २० वर्ष सेवा अवधि पूरा गरेका शिक्षक तथा कर्मचारीलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो ।

You may also like