काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर–२ बाट उम्मेदवारी मनोनयन गरेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार कर्भिका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।
स्थायी आवासीय अनुमति पत्र (पीआर) परित्याग गरेको तीन महिना अवधि नपुगेकाले उम्मेदवारी फिर्ता लिएको उनले विज्ञप्तिमार्फत जानकारी दिएकी हुन्।

नेपालको संविधानको धारा २९१ अनुसार विदेशमा बसोबास गर्दा प्राप्त कार्ड परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाइने व्यवस्था रहेको छ। सो अवधि पूरा नभएकाले उम्मेदवारी फिर्ता लिनु परेको थापाले बताएकी छन्।
उम्मेदवारी फिर्ता लिए पनि राष्ट्रसेवाप्रतिको आफ्नो प्रतिबद्धता निरन्तर रहने उनले उल्लेख गरेकी छन्। राजनीति भित्र वा बाहिर रहेर प्रविधि विकास, उद्यमशीलता प्रवर्द्धन, युवा तथा महिला सशक्तीकरण र सुशासनका क्षेत्रमा सक्रिय योगदान गर्ने प्रतिबद्धता उनले जनाएकी छन्।



