तिलोत्तमाका किसानको गोठमै पुगेर गाई भैंसीमा हुने बाँझोपनको उपचार

by समतल अनलाइन
50Shares

तिलोत्तमा । गाईवस्तुमा बाँझोपनको समस्या भएपछि यसको समाधान गर्न तिलोत्तमाका पशु प्राविधिकले किसानको गोठमै पुगेर परीक्षण एवं उपचार थालेका छन् । तिलोत्तमा नगरपालिका पशु सेवा शाखाको प्राविधक सहयोग र भेटेरनरी अस्पताल भैरहवाको समन्वयमा गाई भैंसीमा हुने बाँझोपनको परीक्षण तथा उपचार थालिएको हो ।

पशु सेवा शाखा तिलोत्तमाका प्रमुख राजु कुँवर मगरका अनुसार किसानको गोठमै पुगेर गाईवस्तुको गर्भजाँच परीक्षण तथा उपचार थालिएको छ ।पशुको बाँझोपन निवारणका लागि यो कार्य थालिएको उनले बताए । यसरी परीक्षण गर्दा किसानलाई पशुमा गर्भ छ वा छैन भन्ने पत्ता लगाउन महिनौँ कुर्न नपर्ने र बाँझोपन भएका पशुको उपचारमा सहज हुने उनले बताए । उनले तीनपटकभन्दा बढी कृत्रिम गर्भाधान गर्दा पनि गर्भ नरहेका गाईमा यो परीक्षण गरिँदै आएको बताए ।सो अवसरमा कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा वडा नम्बर-३ का अध्यक्ष कल्याण पौडेलले पशुहरुमा लागे रोग तथा उपचारसंगै बाँझोपनका बिषयमा नगरपालिकाले खेलेको भूमिका सर्हानिय रहेको उल्लेख गरे। सो अवसरमा वडा सदस्य नारायण खत्री, बिष्णु बहादुर थापा, चुडा कुमारी बिष्ट लगायतको उपस्थिति रहेको थियो।

जानकीनगरबाट बुधबारदेखि गाईमा हुने बाँझोपनको परीक्षण सुरु गरिएको र आज तिलोत्तमा नगरपालिकामा परीक्षण गरिएको पशु चिकित्सक डाक्टर इन्द्रकला खत्रीले जानकारी दिएकि छिन । पशु सेवा शाखाका प्राविधिक सहितको टोली र भेटनरी अस्पताल भैरहवाका प्रतिनिधि संयुक्त रूपमा किसानका गोठमै पुगेर परीक्षण तथा उपचार शुरु गरिएको र यो शिविर १ देखि १७ नम्बर वडामा सन्चालन गरिने उनले बताईन ।पशु सेवा कार्यालयका प्रमुख राजु कुँवरमगर ले नगरपालिका मार्फत वडामा सङ्कलन गरेका बाँझोपन भएका गाईको तत्थ्याङ्कका आधारमा कार्यालयबाट प्राविधिकसहितको टोली गोठमै गएर बाँझोपनको निःशुल्क परीक्षण तथा उपचार गरिँदै आएको बताए ।

बाँझोपन भएका गाईको परीक्षण गरी के कारणले भएको हो भन्ने पत्ता लगाएर उपचार प्रक्रिया अगाडि बढाउँदै आइएको र अन्य थप औषधोपचार गर्नुपर्ने भए किसानसँग सल्लाह गरी प्रक्रिया अगाडि बढाइने गरेको उनले बताए । सो टोलीमा बरिष्ठ पशु चिकित्सक डाक्टर लक्ष्मण घिमिरे, भेटनरी अस्पताल भैरहवाका बरिष्ठ डाक्टर परबेज आलम, पशु चिकित्सक त्रिविक्रम न्यौपाने, बिनोद अर्याल, राधा महरा लगायतको उपस्थिति रहेको छ।पशु शाखा प्रमुख राजु कुँवर मगरका अनुसार पशुमा विभिन्न किसिमका यौनजन्य रोग तथा दानापानी नमिल्दा बाँझोपनको समस्या आउने र उन्नत पशुमा बढी बाँझोपनको समस्या देखिने भएकाले नियमित पशुको गोबर परीक्षण गरी जुकाको औषधि खुवाउने, आहारा तथा दानामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

You may also like