66
दाङ । देउखुरीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा लमही नगरपालिका–५ कोलहीका २२ वर्षीय विशाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनी मोटरसाइकल चालक थिए।
आज बेलुकी लमहीबाट रिहारतर्फ जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारबाट लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा बसमा सवार राप्ती गाउँपालिका–४ की मिना ठकुरी र शिला परियार, मोटरसाइकलमा विशालसँगै सवार लमही नगरपालिका–५ कोलहीका अशोक चौधरी तथा बस धनी सुशील वली घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।



