रुपन्देहीको शुद्धोदन गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न

by समतल अनलाइन
15Shares

शुद्धोदन।रुपन्देहीको शुद्धोदन गाउँपालिकामा हिउँदे अधिवेशन सम्पन्न भएको छ।

गत बुधबार  गाउँसभामा विधान समिति संयोजक, गाउँपालिका प्रवक्ता एंव वडा नं. ४ का अध्यक्ष केशवप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको आर्थिक तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक, २०८२ सर्वसम्मत रूपमा पारित भएको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद बस्यालले घोषणा गर्नुभयो।

उक्त विधेयकले गाउँपालिकामा वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने अध्यक्ष बस्यालले बताउनुभयो। उहाँका अनुसार शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकाससँगै नीति निर्माण, योजना संशोधन र कार्यान्वयनलाई प्रभावकारी बनाउँदै पालिकालाई समृद्ध बनाउनेतर्फ अधिवेशन केन्द्रित रहेको थियो।

अधिवेशनमा हालसम्मको प्रगति प्रतिवेदन पेश गरिएको छ। चालू आर्थिक वर्षमा विनियोजित कुल बजेटमध्ये पुँजीगत तथा चालू खर्चको अवस्था, बेरुजु विवरणलगायतका विषयहरू सार्वजनिक गरिएको छ।

यसैगरी, लेखा समिति संयोजक तारक बहादुर कुवरले पेश गर्नुभएको लेखा समितिको प्रतिवेदन गाउँसभाले पारित गरेको छ।

छलफलका क्रममा वडा सदस्यहरू बालकृष्ण पराजुली, नमकुमारी पङ्गेनी र भिमबहादुर छहारीले लेखा समितिको प्रतिवेदन र समसामयिक विषयमा सुझाव प्रस्तुत गर्नुभएको थियो। उठेका जिज्ञासाहरूको जवाफ गाउँपालिका अध्यक्ष बस्याल, प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेत तथा स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले दिनुभएको थियो।

गाउँसभामा वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकारलगायतको  उपस्थिति  रहेको थियो।

 

You may also like