राष्ट्रिय आर्थिक गणनाका लागि ४ हजार ४३९ जनशक्ति करारमा लिइँदै

by समतल अनलाइन
51Shares

काठमाडौं।राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ का लागि करार सेवामा जनशक्ति लिने भएको छ । स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्य सञ्चालन गर्न सुपरिवेक्षक र गणक पदमा दरखास्त आह्वान गरिएको हो ।

कार्यालयका अनुसार ५२६ जना सुपरिवेक्षक र ३ हजार ९१३ जना गणक गरी कुल ४ हजार ४३९ जनशक्ति करारमा लिइने बिहीबार प्रकाशित सूचनामा उल्लेख छ । सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण र गणक पदका लागि १०+२ (प्रमाणपत्र तह) वा सो सरह उत्तीर्ण योग्यता तोकिएको छ ।

सेवा अवधि साढे दुई महिनाको रहनेछ । सेवा सुविधाअन्तर्गत सुपरिवेक्षकलाई राजपत्र अनङ्कित प्रथम श्रेणीको सुरु तलब स्केल बराबर मासिक ३४ हजार ७३० रुपैयाँ र गणकलाई राजपत्र अनङ्कित द्वितीय श्रेणीको सुरु तलब स्केल बराबर मासिक ३२ हजार ९०२ रुपैयाँ उपलब्ध गराइनेछ ।

दरखास्त अनलाइन माध्यमबाट दिनुपर्नेछ । सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र सम्बन्धित लिङ्क वा क्युआार कोड प्रयोग गरी दरखास्त पेश गर्न सकिने कार्यालयले जनाएको छ । म्याद नाघी तथा रित नपुगी आएका दरखास्तउपर कुनै कारबाही नहुने स्पष्ट गरिएको छ ।

उम्मेदवारको छनोट सर्टलिस्ट र अन्तर्वार्ताका आधारमा गरिने सूचनामा उल्लेख छ ।

You may also like