पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिक टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ना ८ ख ३६५ नम्बरको टिपर आज बिहान करिब ४ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परेर अन्दाजी ३५ वर्षीय केशव सुनारको मृत्यु भएको छ। मृतकको ठेगाना हालसम्म खुल्न सकेको छैन।
मृतक टिपर चालक हुन् वा अन्य सवार व्यक्ति हुन् भन्ने विषयमा पनि पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। साथै टिपरमा अन्य व्यक्ति सवार थिए वा थिएनन् भन्नेबारे समेत यकिन जानकारी प्राप्त हुन सकेको छैन।
टिपर सडकबाट करिब २५० मिटर तल खसेर खोलामा पुगेको प्रहरीले जनाएको छ। उक्त टिपर नवलपरासीस्थित पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिकातर्फ जाँदै थियो।
घटनापछि प्रहरी चौकी हार्थोक र अर्गलीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। खोल्सो र झाडी भएको क्षेत्र तथा बिहानको अँध्यारोका कारण खोजी तथा अनुसन्धानमा केही कठिनाइ भएको प्रहरीले जनाएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिए।



