बुटवल–१२ ढवाहमा चोरीको आतंक, दुई घर र एक किराना पसलमा लुटपाट

by समतल अनलाइन
75Shares

बुटवल । बुटवल उपमहानगरपालिका–१२ ढवाह क्षेत्रमा पछिल्लो समय चोरीका घटना बढ्दै गएका छन्। सोमबार राति सतगढी टोल विकास संस्था अन्तर्गतका दुई घरमा चोरी भएको छ।
सतगढी टोल विकास संस्थाका अध्यक्ष योगेन्द्र छन्त्यालका अनुसार रातिको समयमा सतगढी टोलस्थित सचिन किराना पसल र सुपादेउराली पथमा रहेको नारायणप्रसाद भुसालको घरमा चोरी भएको हो।

किराना पसलबाट करिब १५ हजार रुपैयाँ नगद सहित विभिन्न जिन्सी सामान चोरी भएको अध्यक्ष छन्त्यालले बताए। यस्तै भुसालको घरबाट खाद्यान्नसहित विभिन्न जिन्सी सामग्री चोरी भएको जानकारी उनले दिए।

अध्यक्ष छन्त्यालका अनुसार दशैँ–तिहारयता मात्रै सतगढी टोल विकास संस्था क्षेत्रभित्र २० भन्दा बढी घरमा चोरी भइसकेको छ। चोरी गर्ने गिरोह नै सक्रिय रहेको भन्दै उनले तत्काल दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरेका छन्।

गयरातिको चोरीको घटना सिसिटिभी क्यामेरामा समेत कैद भएकाले संलग्न व्यक्तिलाई छिटो पक्राउ गर्न उनले अनुरोध गरे।
उता, नयाँ गाउँ प्रहरी चौकीका इन्चार्ज रनबहादुर जिसीले चोरीका घटना बढेकाले प्रहरीले सुरक्षा निगरानी कडा बनाइएको र घटनाबारे अनुसन्धान भइरहेको बताए।

You may also like