सभापति छोड्न देउवा तयार भएनन्, विशेष महाधिवेशन नेतृत्व चयनतर्फ उन्मुख

by समतल अनलाइन
55Shares

काठमाडौँ । नेपाली काँग्रेसमा भएका सहमतिका प्रयास निष्कर्षमा पुग्न नसक्ने संकेत देखिएको छ । विशेष महाधिवेशन पक्षधरले राखेको नेतृत्व परिवर्तनको अडान संस्थापन पक्षले अस्वीकार गरेपछि काँग्रेस नयाँ नेतृत्व चयनको बाटोमा अगाडी बढेको हो ।

विशेष महाधिवेशनको निर्वाचन समितिले मनोनयन दर्ताका लागि आज बिहान ८: १५ बजेदेखि ९: १५ बजेसम्मको समय थप गरेको छ ।

सभापति शेरबहादुर देउवाले तत्काल नेतृत्व छोड्न तयार नभएपछि वार्ता निष्कर्षमा नपुगेको बताइएको छ । अब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने गृहकार्यमा जुटिसकेका छन् । संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरू सहमति जुटाउन समिति नै बनाएर संवाद गरेका थिए ।

विशेष महाधिवेशनलाई केन्द्रीय कार्यसमितिबाट स्वामित्व लिन र हलबाट पारित भएको नीति तथा पार्टी सुधारका प्रस्तावलाई कार्यान्वयनमा लैजान संस्थापन पक्ष तयार भएपनि सभापति देउवाले पद छोड्नुपर्ने मागमा संस्थापन पक्ष तयार नभएको बताइएको छ ।

मंगलबार साँझसम्म वार्ता सकारात्मक भएको भन्दै विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका आजका लागि सारिएको थियो भने संस्थापन पक्षले बोलाएको केन्द्रीय समितिको बैठक पनि आजका लागि सारिएको थियो ।

वार्तामा विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनबाटै नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने, दोस्रो सभापतिले राजीनामा दिने र नेतृत्वमा मात्रै निर्वाचन गर्ने, तेस्रो संस्थापन पक्षले चाहेकै व्यक्तिसमेत हुने गरी अन्तरिम सभापति बनाउने प्रस्ताव गरेको थियो ।

यी प्रस्तावमा संस्थापन तयार नभएपछि पार्टी संचालन गर्न सभापतिलाई ‘सेरेमोनियल’ भूमिकामा राखेर कार्यवाहक सभापति, महामन्त्रीद्वय र १४औं महाधिवेशनका मुख्य प्रतिस्पर्धी नेतासहितको ‘हाइकमान्ड’ मार्फत पार्टी सञ्चालन गर्ने विकल्प अघि सारिएको थियो र त्यो विकल्पलाई पनि संस्थापन पक्षले अस्वीकार गरेको छ ।

You may also like