काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनपछि नेतृत्व चयन भएपछि निर्वाचन आयोगसम्म पुग्नु पर्ने बताएका छन्।
मंगलबार काठमाडौँमा भएको बन्द सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘नेतृत्व चयन गरिसकेपछि कतिपय घर फर्किन सक्ने भए पनि निर्वाचन आयोगले पर्खिरहेको हुन्छ। विशेष महाधिवेशनबाट कस्तो नेतृत्व चयन भयो, के निर्णय लिएर आयो भनेर पर्खिरहेको हुन्छ। हामीले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ सबै कुरा पुर्याउनुपर्छ।’
शर्माले आफूले उम्मेदवारी दिएको भए पनि कतिपय अवस्थामा सर्वसम्मत रूपमा आउनुपर्ने स्थिति रहने बताए। उनले थपे, ‘कतिपय साथीलाई लाग्न सक्छ, मैले उम्मेदवारी दर्ता गरेको छु, चुनाव जित्छु। तर हामीले भन्नुपर्ने हुनसक्छ- उम्मेदवारी दर्ता भयो, अब सर्वसम्मत रूपमा आउनुस्।’
महामन्त्री शर्माले आगामी राजनीतिमा जुझारुपनका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।



