सैनामैना मेमोरियलमा खेलकुद महोत्सव–२०८२ भव्य रूपमा सुरु!

by समतल अनलाइन
22Shares

विद्यालयको रजत जयन्तीको पूर्वसन्ध्यामा सैनामैना मेमोरियल स्कुल, सैनामैना–१, रुपन्देहीमा आयोजित खेलकुद महोत्सव–२०८२ २०८२ साल पौष २८ गतेदेखि सौहार्दपूर्ण वातावरणमा भव्य रूपमा सुरु भएको छ।

विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त महोत्सवको उद्घघाटन समारोह विद्यालयका प्राचार्य डी. बि. खत्री ‘प्रदिप’को अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक जे. बि. क्षेत्री, सह–प्राचार्य पदम अर्याल तथा शैक्षिक सल्लाहकार लिलाधर घिमिरेको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घघाटन समारोहमा प्राचार्य डी. बि. खत्री ‘प्रदिप’ले मसाल प्रज्वलन गरी खेलकुद महोत्सवको औपचारिक उद्घघाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै उहाँले खेलकुदले विद्यार्थीमा अनुशासन, सहकार्य, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उल्लेख गर्नुभयो।
“विद्यार्थीहरूले खेललाई स्वस्थ प्रतिस्पर्धाको रूपमा लिँदै ‘अनुशासन नै खेलाडीको गहना हो’ भन्ने भावनाका साथ खेल्न ,” भन्दै उहाँले सबै सहभागी खेलाडीलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो।

त्यसैगरी, प्राचार्य खत्रीले खेलकुद महोत्सव पौष २८ गतेदेखि पौष ३० गतेसम्म सञ्चालन हुने र प्रतियोगिताका विजेताहरूलाई प्रदान गरिने पुरस्कार विद्यालयको रजत जयन्ती समारोहका अवसरमा वितरण गरिने जानकारी पनि दिनुभयो।

खेल महोत्सव अन्तर्गत भलिबल, क्रिकेट, दौड, लङ जम्प, हाई जम्प, सट पुट, मिठाई दौड, बेलुन फुटाइ, बोरा दौड, कुर्सी दौड, टेबल टेनिस, ब्याडमिन्टन लगायतका ट्र्याक तथा फिल्डका विविध खेल प्रतियोगिताहरू विभिन्न तहमा सञ्चालन गरिने विद्यालयका अतिरिक्त कार्यक्रम विभाग प्रमुख प्रकाश चौधरीले जानकारी दिनुभयो। उहाँले सबै विद्यार्थीलाई उत्साहपूर्वक सहभागिता जनाउन आग्रहसमेत गर्नुभयो।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूको स्काउट, रेडक्रस, बालक्लब तथा अन्य खेलाडीहरूले कवाज प्रस्तुत गरी उद्घघाटन समारोहको रौनक थपेका थिए।
यसैबीच, आज सम्पन्न सट पुट, भलिबल, मिठाई दौड, बेलुन फुटाइ तथा रस्सा कस्सी लगायतका खेल प्रतियोगितामा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । त्यस्तै आज सम्पन्न भएको छात्र र छात्रा तर्फको दुवै रस्साकस्सी खेलमा कञ्चनजङ्घा सदन विजेता र धौलागिरी उपविजेता भएका थिए त्यस्तै छात्र भलीबल खेलमा अन्नपूर्ण र कञ्चनजङ्घा सदन फाइनलमा पुगेको विद्यालयका मिडिया को–अर्डिनेटर कमल खड्काले जानकारी दिनुभयो।

You may also like