दलित, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका मुद्दामा रुपन्देहीमा अन्तर्क्रिया कार्यशाला सम्पन्न

by समतल अनलाइन
88Shares

भैरहवा । दलित फ्रिडम सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा दलित, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सामाजिक सुरक्षा, अधिकार र विद्यमान समस्याबारे अन्तरक्रिया कार्यशाला सम्पन्न भएको छ।

रुपन्देहीको भैरहवास्थित होटल पौवामा आयोजित कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, अधिकारकर्मी तथा समुदायका अगुवाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन दलित फ्रिडम सेन्टर लुम्बिनी प्रदेशकी कोअर्डिनेटर हिमानी रसालीले गरेकी थिइन्।

कार्यक्रमको उद्घाटन तथा स्वागत मन्तव्य सामरी उत्थान सेवाका कार्यकारी निर्देशक बिमल गायकले राख्दै दलित तथा लैङ्गिक–यौनिक अल्पसंख्यक समुदायले अझै पनि सामाजिक, आर्थिक र संस्थागत विभेद भोगिरहेको यथार्थलाई सम्बोधन गर्न यस्ता छलफल आवश्यक रहेको बताए।

दलित फ्रिडम सेन्टरका कार्यक्रम व्यवस्थापक शिवहरी ज्ञवालीले विषयगत प्रस्तुतीकरण गर्दै सामाजिक सुरक्षा पहुँच, नीतिगत व्यवस्था र व्यवहारिक समस्याको अवस्था प्रस्तुत गरे। नीति भए पनि कार्यान्वयन कमजोर हुँदा समुदाय अझै पछाडि परेको उनले उल्लेख गरे।

कार्यशालामा राष्ट्रिय मानव अधिकार आयोग रुपन्देहीका प्रतिनिधि पृथु खतिवडा, श्रम तथा रोजगार विभागका राशिद शियाज, लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन भीम ज्ञवाली तथा सिद्धार्थनगर नगरपालिका महिला तथा बालबालिका शाखाकी कौशल्या चौधरीलगायतले आ–आफ्नो क्षेत्रबाट उपलब्ध सेवा, अवसर र चुनौतीबारे धारणा राखेका थिए।

एक्लोलाई साहारा दिने वृक्ष समूह तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायकी नेत्री रेशम न्यौपानेले दलित महिलाहरूको प्रतिनिधित्व अत्यन्त न्यून रहेको भन्दै समावेशी नेतृत्व विकासमा ध्यान दिन आग्रह गरिन्।

कार्यशालाको निष्कर्षमा दलित तथा लैङ्गिक–यौनिक अल्पसंख्यक समुदायका मुद्दालाई मुख्यधारमा ल्याउन, सामाजिक सुरक्षा योजनामा पहुँच बढाउन र संस्थागत सहभागिता सुनिश्चित गर्न संयुक्त पहल आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

You may also like

This will close in 0 seconds