काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट नेताहरूको छलफलले दुई महामन्त्रीसँग संवाद गर्ने जिम्मा देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिने निष्कर्ष निकालेको छ।
छलफलमा सहभागी मीनबहादुर विश्वकर्माले भने, ‘कोही पनि पार्टी विभाजन चाहँदैन। मत मात्र होइन, पार्टी पनि एक राख्ने गरी सभापतिले छलफल थाल्नु भएको हो।’
यता, नेता श्यामकुमार घिमिरेका अनुसार दुवै पक्ष जीतको खोजीमा छन् । उनले बताए, ‘विशेष महाधिवेशनको पक्षमा रहेका केही नेता नियमित महाधिवेशनमा पनि सहमत हुने विश्वास छ। दुवै पक्ष विन विन हुने गरी निकास खोजेर छलफल भइरहेको छ।’
कांग्रेस ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार पार्टी गम्भीर अवस्थामा छ। उनका अनुसार देउवा निवासमा निरन्तर नेताहरू छलफलमा जुटिरहेका छन्।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले भने, ‘अहिले मुलुक गम्भीर अवस्थामा छ। पार्टी पनि त्यतिकै गम्भीर अवस्थामा छ। पार्टीको विधि अनुसार अघि बढ्नुपर्छ।’
केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको सान्दर्भिकता नरहेको भन्दै वैशाखको नियमित महाधिवेशनमा केन्द्रित हुन आग्रह गरेको थियो ।



