बुटवल। बुटवलमा सम्पन्न सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २०८२ को उपाधि कालिका मानवज्ञान माध्यमिक विद्यालयले चुमेको छ। सोमबार सम्पन्न अन्तिम दिनको खेलसँगै कालिकाले कुल १३ स्वर्ण, १० रजत र ५ कास्य पदक जित्दै लगातार उपाधि आफ्नो नाममा सुरक्षित गर्न सफल भएको हो।
प्रतियोगितामा न्यु होराइजन इङलिस बोर्डिङ स्कुलले १२ स्वर्ण, ३ रजत र ४ कास्य पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ। यस्तै, गार्गी एकेडेमीले ६ स्वर्ण, ७ रजत र ७ कास्य पदकसहित तेस्रो स्थान प्राप्त गरेको छ।
एक समारोहबीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया लगायतले विजेता खेलाडी तथा विद्यालयलाई पुरस्कार वितरण गर्नुभयो।
उपाधि विजेता कालिका मानवज्ञान माध्यमिक विद्यालयलाई नगद २० हजार रुपैयाँ, रनिङशिल्ड, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। यस्तै, दोस्रो स्थान हासिल गर्ने न्यु होराइजन इङलिस बोर्डिङ स्कुललाई नगद १५ हजार रुपैयाँ तथा तेस्रो हुने गार्गी एकेडेमीलाई नगद १० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।



