एभरेष्ट कप छात्रा भलिवलको उद्घाटन खेलमा आयोजक एभरेष्ट र न्यु होराइजन विजयी

by समतल अनलाइन
85Shares

बुटवल। रुपन्देहीको बुटवलमा एघारौँ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिवल प्रतियोगिता सुरु भएको छ। एभरेष्ट इङलिस माध्यमिक विद्यालय बुटवलको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाभरका डेढ दर्जन सामुदायिक तथा संस्थागत विद्यालयका टिमहरूको सहभागिता रहेको छ।

सोमबारदेखि सुरु भएको प्रतियोगिताका उद्घाटन खेलहरूमा न्यु होराइजन माध्यमिक विद्यालय र आयोजक एभरेष्ट इङलिस मावि विजयी भएका छन्। पहिलो खेलमा होराइजन मावि बुटवलले देवदह इङलिस बोर्डिङ स्कुललाई सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो।

यस्तै, सोमबार नै भएको दोस्रो खेलमा आयोजक एभरेष्ट इङलिस माविले अक्सफोर्ड माध्यमिक विद्यालय बुटवललाई सोझै सेटमा हराउँदै अघिल्लो चरणको यात्रा सुरक्षित गरेको खेल संयोजक अर्जुन घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार सोही दिन भएको तेस्रो खेलमा ग्रीन प्लान्ट मावि देवदह विजयी भयो भने चौथो र पाँचौँ खेलमा देवदह बुद्ध पब्लिक स्कुलले जीत हासिल गरेको छ।

प्रतियोगिताका अन्य खेलहरू मंगलबार र बुधबार सञ्चालन हुनेछन् भने बुधबार नै फाइनल खेल हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला शिक्षा समन्वय इकाइ रुपन्देहीका प्रमुख विष्णुप्रसाद पन्थीले खेलकुदले विद्यार्थीको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले संस्थागत विद्यालयहरूले शैक्षिक क्षेत्रसँगै खेलकुदमा पनि उल्लेखनीय लगानी गर्दै आएको उल्लेख गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय उपाध्यक्ष टिकाराम न्यौपाने, हिसानका केन्द्रीय सदस्य दिनेश भुसाल, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे तथा विद्यालयका सहप्राचार्य भिमसेन गौतमलगायतले खेलकुद विकासमा निजी विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै सहभागी टिमहरूलाई सफलताको शुभकामना दिनुभयो।

कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यालयले शैक्षिक गतिविधिसँगै आन्तरिक, नगर तथा जिल्लास्तरीय विभिन्न अतिरिक्त क्रियाकलापहरू निरन्तर आयोजना गर्दै आएको जानकारी दिनुभयो।

शिक्षक माधव पौडेलको सञ्चालनमा भएको उद्घाटन कार्यक्रमको अवसरमा विद्यालयले खेलकुद सप्ताहको पनि शुभारम्भ गरेको छ। खेलकुद सप्ताहअन्तर्गत कक्षा एकदेखि माध्यमिक तहसम्मका विद्यार्थीहरूका लागि भलिवल, स्किपिङ रेस, टायर रेस, बुक रेस, हाई जम्प, लङ जम्प, बलुन ब्लास्ट, म्युजिकल चेयरलगायतका विभिन्न प्रतियोगिताहरू आयोजना गरिने छन्।

You may also like