राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

by समतल अनलाइन
76Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स-साना राज्यमा छरिएर रहेको नेपाल आजको अवस्थामा आइपुग्न धेरै पूर्वजहरूको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले पृथ्वीनारायण शाहले छरिएका राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको स्पष्ट पारे।

राष्ट्रपति पौडेलले भने, ‘पृथ्वीनारायण शाहलाई सम्झँदा उहाँले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचानलाई स्थापित गर्नुभएको देखिन्छ । उहाँको दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन् ।’

उनका अनुसार सशक्त अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँगको कूटनीतिक सम्बन्ध, धर्म-संस्कृति संरक्षण, जनकल्याण, राज्यको जिम्मेवारी, न्याय, सुशासन र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि दिव्योपदेश मार्गदर्शक बन्न सक्छन्।

राष्ट्रपति पौडेलले इतिहासका विभिन्न कालखण्डमा वीर पुर्खाहरूले राष्ट्र निर्माण अभियानलाई निरन्तरता दिएकै कारण आज सार्वभौम र स्वतन्त्र नेपालमा गर्व गर्न पाएको उल्लेख गरे।

उही आधारभूमिमा टेकेर नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रमा आधारित समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा संवैधानिक व्यवस्था गरिएको उनले स्पष्ट पारे।

उनले भने, ‘राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति पौडेलले श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।

You may also like