काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि भृकुटीमण्डपमा सुरू हुँदैछ । विशेष महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो १ बजे हुनेछ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई बिहान ८ बजे नै भृकुटीमण्डप उपस्थित हुन भनिएको छ । सहभागीहरूको नाम दर्ता बिहान ८ बजेदेखि सुरु हुनेछ । नाम दर्ताका लागि भृकुटीमण्डपको गेटअगाडि स्टल राखिएको छ । दर्ता गर्दा परिचय खुल्ने कागज अनिवार्य गरिएको छ भने दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ ।
आयोजकका अनुसार बिहान ११ बजे काठमाडौँ र ललितपुरका विभिन्न ६ स्थानबाट जुलुस निकालिनेछ। ती जुलुस विभिन्न रुट हुँदै भृकुटीमण्डप पुग्नेछन्। जुलुस प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम सुरू हुनेछ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल र काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट निकालिनेछ।
सुन्धाराबाट निस्कने जुलुसमा चितवन, अर्घाखाँची, नवलपुर र सुदूरपश्चिमका जिल्लाबाट आएका नेता-कार्यकर्ता सहभागी हुनेछन् । काठमाडौँ निर्वाचन क्षेत्र ८, ९ र १० का नेता-कार्यकर्ता पनि यही जुलुसमा रहनेछन्। जुलुस सुन्धारा, वीर अस्पताल, रत्नपार्क र पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ ।
रत्नपार्कबाट निस्कने जुलुसमा नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौँका उत्तरी क्षेत्रका नेता-कार्यकर्ता सहभागी हुनेछन्। निर्वाचन क्षेत्र ५, ६ र ७ का नेता-कार्यकर्ता पनि यसै जुलुसमा रहनेछन् । यो जुलुस पुरानो बसपार्क हुँदै महाधिवेशन स्थल पुग्नेछ ।
पद्मकन्या क्याम्पसबाट निस्कने जुलुसमा बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका नेता-कार्यकर्ता सहभागी हुनेछन्। काठमाडौँ निर्वाचन क्षेत्र ५, ६ र ७ का नेता-कार्यकर्ता पनि यही जुलुसमा रहनेछन्। जुलुस पुतलीसडक र शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।
शंकरदेव क्याम्पसबाट निस्कने जुलुसमा भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीका नेता-कार्यकर्ता सहभागी हुनेछन्। काठमाडौँ निर्वाचन क्षेत्र २ र ३ का नेता-कार्यकर्ता पनि यस जुलुसमा रहनेछन् ।
कमलपोखरीबाट निस्कने जुलुसमा काठमाडौँ निर्वाचन क्षेत्र १ र ४ का नेता-कार्यकर्ता सहभागी हुनेछन्। जुलुस चारखाल अड्डा, डिल्लीबजार र पुतलीसडक हुँदै भृकुटीमण्डप पुग्नेछ ।
ललितपुरको कुपण्डोलबाट निस्कने जुलुसमा ललितपुर र मकवानपुरका नेता-कार्यकर्ता सहभागी हुनेछन्। यो जुलुस थापाथली, त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क र पुरानो बसपार्क हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।
विशेष महाधिवेशनका लागि देशभरबाट ठूलो संख्यामा कांग्रेस नेता-कार्यकर्ता काठमाडौँ भेला भएका छन्। आयोजक समितिले महाधिवेशन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी पूरा भएको जनाएको छ ।



