उज्यालो नेपालले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक, लगत्तै पत्रकार सम्मेलन

by समतल अनलाइन
70Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रक्रिया असफल भएपछि उज्यालो नेपाल पार्टीले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक शनिबार अपराह्न ४ बजे बस्ने तय गरिएको छ।

दुई पार्टीबीच एकता प्रयास भइरहेकै बेला सहमति जुट्न नसकेपछि केन्द्रीय समिति बैठक बोलाइएको पार्टी स्रोतले जनाएको छ। उज्यालो नेपाल र रास्वपाबीच कुलमान घिसिङ उपसभापति हुने गरी प्रारम्भिक सहमति बनेको थियो।

तर पदाधिकारी र केन्द्रीय सदस्यको बाँडफाँडमा कुरा नमिलेको जनाइएको छ। पूर्व सहमति अनुसार समानुपातिक उम्मेदवारको विषय कार्यान्वयन नभएको उज्यालो नेपाल पार्टीको दाबी छ।

पछिल्लो चरणमा शक्ति बाँडफाँडका विषयमा संवाद भइरहँदा कुलमान पक्ष पूर्ववत् सहमतिबाट पछि हटेको रास्वपा पक्षको भनाइ छ। यसै विषयमा थप छलफल र आगामी रणनीति तय गर्न केन्द्रीय समिति बैठक बोलाइएको बुझिएको छ।

लगत्तै साँझ आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलन आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा हुनेछ।

पार्टीले पत्रकार तथा सञ्चारकर्मीलाई उपस्थितिका लागि अनुरोध गरेको छ। हालको राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै पार्टीले पत्रकार सम्मेलनको आयोजना गरेको जनाएको छ ।

You may also like