काठमाडौँ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आशिका तामाङले उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले कुनै पनि राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रूपमा चुनाव लड्ने बताएकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने निर्णयका साथ आगामी हुने संसद निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु ।’
तामाङले पछिल्ला केही हप्तादेखि राजनीतिमा सक्रिय हुने वा नहुने विषयमा छलफल गरेको उल्लेख गरेकी छन् । यस क्रममा सरोकारवालासँग प्रत्यक्ष संवाद गरिएको र सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गरिएको उनको भनाइ छ ।
उनले विशेष गरी जेनजी पुस्तासँग उनीहरूको अपेक्षा, चिन्ता र मुद्दाबारे छलफल भएको बताएकी छन् । ती छलफलबाट सकारात्मक सुझावसँगै आलोचना र नकारात्मक प्रतिक्रिया पनि आएको उनको भनाइ छ ।
उनले लेखेकी छन्, ‘म ती सबै सुझाव, व्यवहार र विचारलाई समान रूपले सम्मान गर्दछु।’
तामाङले दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु वर्तमान सन्दर्भमा जिम्मेवार निर्णय भएको उल्लेख गरेकी छन् । जेनजीले उठाइरहेका आवाज संसददेखि सडकसम्म प्रतिनिधित्व हुनुपर्ने उनको धारणा छ ।
उनले यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षा भन्दा नयाँ पुस्ताको आवाज, जबाफदेही राजनीति र पारदर्शिताबाट प्रेरित भएको उल्लेख गरेकी छन् ।



