बुटवल।तिलोत्तमा नगरपालिका–ड्राइभरटोलस्थित न्यू होराइजन जिविएस स्कुलले आउँदो पुस ३० गते आफ्नो ३२औँ वार्षिक उत्सव मनाउने भएको छ। विद्यालयले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी वार्षिक उत्सव सप्ताहव्यापी कार्यक्रमसहित मनाइने जानकारी दिएको हो।
विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्यका अनुसार वार्षिक उत्सवअन्तर्गत शुक्रबारदेखि खेलकुद तथा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु गरिएको छ। पुस २९ गते पुरस्कार वितरण, खाना महोत्सव तथा सांस्कृतिक झाँकी प्रदर्शन गरिने र पुस ३० गते मूल समारोह आयोजना गरी ३२औँ वार्षिक उत्सव मनाइने उनले बताए।
मूल समारोहको दिन ४ जीपीए प्राप्त गर्ने विद्यार्थीलाई स्वर्ण पदक प्रदान गरिनेछ भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सम्मान गरिने कार्यक्रम रहेको छ।
शैक्षिक गुणस्तरको पहिचान बनाउँदै आएको न्यू होराइजन शैक्षिक संस्था २०५९ सालमा स्थापना भएको हो। सुरुमा बुटवलको दरबारलाइनबाट सञ्चालन भएको संस्था भौतिक पूर्वाधार विस्तार गर्दै २०६१ सालमा ड्राइभरटोलमा स्थानान्तरण भएको थियो। २०५० सालमा शंकरनगरको ड्राइभरटोलमा स्थापना भई आधारभूत शिक्षा प्रदान गर्दै आएको गौतमबुद्ध स्कुललाई २०६९ सालमा आफ्नो स्वामित्वमा ल्याई ‘न्यू होराइजन गौतमबुद्ध’का रूपमा संस्थागत समायोजन गरिएको प्राचार्य आचार्यले जानकारी दिए।
विद्यालयमा हाल ३ हजार ५ सय विद्यार्थी र २३० जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। ‘क’ वर्गमा सूचीकृत होराइजन जिविएसले २०७९ सालमा आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त गर्नुका साथै लगातार तेस्रो पटक तिलोत्तमा नगरपालिकाबाट सम्मानित भएको प्राचार्य आचार्यले बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजुले निजी विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानलाई राज्यले अझै पर्याप्त रूपमा नबुझेको बताए। उनले भविष्यमा क्षेत्रीय विश्वविद्यालय स्थापना गर्ने सपना रहेको उल्लेख गर्दै त्यसका लागि राज्यले स्पष्ट नीति बनाउनुपर्नेमा जोड दिए। साथै सामुदायिक र संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो। कार्यक्रम विद्यालयका शिक्षक कृष्ण पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो।



