नेपाल ज्योतिष परिषद्को २८औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

by समतल अनलाइन
226Shares

काठमाडौँ । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको आयोजनामा परिषद्को २८ औँ स्थापना दिवस काठमाडौँ स्थित होटल पेन्सन वासनामा भव्य रूपमा सम्पन्न भएको छ । परिषद्का केन्द्रीय अध्यक्ष ज्यो.केशवप्रसाद धितालको अध्यक्षतामा आयोजित कार्यक्रममा ज्योतिष शास्त्रको संरक्षण, संवद्र्धन तथा ज्योतिष पेशाको व्यवस्थित विकासका विषयमा गहन छलफल भएकोे थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालले ज्योतिष शास्त्र पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै परिषद्ले विगत २८ वर्षदेखि ज्योतिषहरूको हकहित, मर्यादा र पेशागत विकासका लागि गर्दै आएको योगदानको प्रशंसा गर्नुभयो । निरन्तर सक्रियता परिषद्को ठूलो उपलब्धि भएको उहाँको भनाइ थियो ।

विशिष्ट अतिथि नेपाल ज्योतिष परिषद्का संस्थापक अध्यक्ष एवम् विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा.लोकराज पौडेलले परिषद् स्थापना गर्दाका चुनौती, ज्योतिषी हरूलाई संगठित गर्ने प्रयास र संस्थागत यात्राबारे स्मरण गर्दै आगामी दिनमा परिषद्ले ज्योतिष क्षेत्रको उज्ज्वल भविष्य निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल ज्योतिष परिषद्का केन्द्रीय अध्यक्ष ज्यो.केशवप्रसाद धितालले ज्योतिष पेशालाई अझ व्यवस्थित, मर्यादित र समयसापेक्ष बनाउन परिषद् प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले ज्योतिषीहरूको क्षमता अभिवृद्धि, सीप विकास र व्यवहारिक ज्ञान विस्तारका लागि छिट्टै ज्योतिष प्रशिक्षण तालिम कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले समयमै पञ्चाङ्ग प्रकाशन गर्नका लागि पञ्चाङ्गकारहरु एवम् ज्योतिषीइ संघसंस्थाहरुको साथ सहयोग र सुझाव आवश्यक रहने बताउनुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी, दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष डा.सहदेव विष्ट, नेपाल ज्योतिष परिषद्का निवर्तमान अध्यक्ष ज्यो.माधवराज पाण्डे, कालाग्नीरुद्रपीठ लडकेश्वरधामका पिठाधीश मुकसन्द शर्मा हुमगाईं, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व कार्यकारी निर्देशक ज्यो.पं.सूर्यप्रसाद ढुङ्गेल, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई, वाल्मीकि विद्यापीठका सहप्राडा पुरुषोत्तम भट्टराई, त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र विभागका पूर्व अध्यक्ष प्राडा राजाराम प्रधानाङ्ग, राष्ट्रिय महिला ज्योतिष संघका अध्यक्ष रतिदेवि जोशी, परिषद्का कार्यकारी सभापति कमलप्रसाद काफ्ले लगायतले ज्योतिष विद्यालाई आधुनिक समय सापेक्ष बनाउँदै वैज्ञानिक ढंगले अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

स्थापना दिवसको अवसरमा ज्योतिष विद्याको संरक्षण, संवद्र्धन र विकासमा विशेष योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । औपचारिक कार्यक्रमका बीच खैजडी भजन तथा विविध सांस्कृतिक प्रस्तुतिहरूले समारोहलाई थप आकर्षक बनाएको थियो । कार्यक्रममा देशभरका केन्द्र, प्रदेश तथा जिल्ला तहका करिब २०० ज्योतिषी गुरुहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपानेको स्वागत मन्तव्य एवम्सचिव शिवलाल पौडेलको सहजीकरणमा सम्पन्न भएको थियो ।

You may also like

This will close in 0 seconds