काँग्रेस विशेष महाधिवेशनको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन कार्यसम्पादन समितिको अनुरोध

by समतल अनलाइन
118Shares

काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयप्रति महामन्त्री गगन थापाले असहमति जनाउँदै फरक मत राखेका थिए । हस्ताक्षर फिर्ता लिन अनुरोध गर्दा पार्टीका कार्यवहाक सभापति पूर्ण बहादुर खड्काले राखेको प्रस्तावमा आफूहरूको असहमति रहेको महामन्त्री थापाले बताए ।

बैठकपछि कांग्रेस नेता एनपी साउदले कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । पदाधिकारीले विशेष महाधिवेशन बोलाउने विधानमा व्यवस्था नरहेकाले देशभरिका केन्द्रदेखि तल्लो तहसम्मका पदाधिकारी महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको उनले बताए ।

बैठकले पदाधिकारी वा सदस्यहरुद्वारा व्यक्तिगत रुपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवशेनका नाममा गरिने कुनै पनि गतिविधि विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरुलाई यो बैठक अपिल गर्ने निर्णय गरेको छ ।

You may also like