बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ तपाहलाइनमा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
शङ्करनगरस्थित बनबाटिकाबाट योगिकुटीतर्फ आउँदै गरेको लु ६१ प ५८७८ नम्बरको मोटरसाइकल र योगिकुटीबाट बनबाटिकातर्फ जाँदै गरेको लु ६८ प ५२३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा दुवै मोटरसाइकलका चालकसहित तीन जना गम्भीर घाइते भएका थिए।
घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएकोमा लु ६८ प ५२३६ नम्बरको मोटरसाइकल चालक, सैनामैना नगरपालिका–१ सादभोद्र निवासी २८ वर्षीय जीवन चौधरीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
उक्त दुर्घटनामा लु ६१ प ५८७८ नम्बरको मोटरसाइकल चालक, तिलोत्तमा नगरपालिका–१ तपाहलाइन निवासी २० वर्षीय सुजन जंग क्षेत्री गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार क्षेत्रीका दुवै हात, दुवै खुट्टा र ढाडमा गम्भीर चोट लागेको छ र उनको अवस्था चिन्ताजनक रहेको छ।
त्यसैगरी, सोही मोटरसाइकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१ बनबाटिका निवासी २३ वर्षीय विक्रम नेपालीका दुवै हात तथा शरीरमा चोट लागेको छ।
यस्तै, लु ६८ प ५२३६ नम्बरको मोटरसाइकलमा पछाडि सवार, बुटवल उपमहानगरपालिका–१७ रानिगंज निवासी १८ वर्षीय बालकृष्ण परियार पनि घाइते भएका छन्।
दुर्घटनामा घाइते तीनै जनाको बुटवल–कालिकानगरस्थित चौराहा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र रानाले जानकारी दिए।



