आन्तरिक कलह व्यवस्थापन गर्नु अहिलेको मुख्य चुनौती : धनराज गुरुङ

by समतल अनलाइन
49Shares

काठमाडौँ । नेपाली कांग्रेसभित्र नियमित र विशेष महाधिवेशनलाई लिएर विवाद चर्किँदै गएको छ । यही विवादका बीच उपसभापति धनराज गुरुङले पार्टीलाई एकताबद्ध बनाएर लैजान छलफल जारी रहेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्तरिक कलह व्यवस्थापन गर्नु अहिलेको मुख्य चुनौती भएको बताए। उनले एकता जोगाउनु नै पार्टीको प्राथमिकता रहेको उल्लेख गरे ।

पार्टीभित्र विशेष कि नियमित महाधिवेशन गर्ने भन्ने विषयमा मतभेद छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरिसकेका छन् । उनीहरूले विधानको पालना र नयाँ ऊर्जाका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको पहल गरेका हुन् ।

उता संस्थापन पक्षले भने विशेष महाधिवेशनको आवश्यकता नरहेको बताउँदै नियमित १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ। यही मतभेदका बीच उपसभापति गुरुङले दुवै पक्षलाई मिलाउने प्रयास भइरहेको जानकारी दिए ।

‘कहीँ न कहीँबाट सबैलाई मिलाएर लैजाने कुरामा हाम्रो छलफल भइरहेको छ,’ गुरुङले भने, ‘सबैको चाहना पार्टी बलियो होस् भन्ने नै हो।’

उनले नेताहरूको त्याग र बलिदान सम्झँदै एकतामा जोड दिए । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देखिएको यो विवादले कार्यकर्तामा अन्योल बढाएको छ ।

संस्थापन पक्षले विशेष महाधिवेशनलाई ‘पार्टी विभाजनको बीउ’ भनेको छ । महामन्त्रीद्वयले भने यसलाई ‘पार्टी सुदृढीकरणको अभियान’ बताएका छन् । उपसभापति गुरुङको अभिव्यक्तिले कांग्रेसभित्र सहमतिको प्रयास जारी रहेको सङ्केत दिएको छ ।

You may also like