विशेष महाधिवेशन रोक्न अपिल, गगन भन्छन् : विशेष महाधिवेशन रोकिँदैन

by समतल अनलाइन
107Shares

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले विधान विपरीत आव्हान गरिएको विशेष महाधिवेशन तत्काल रोक्न अपिल गरेको छ भने महामन्त्री गगन थापाले त्यसलाई विधानसम्मत हकको प्रयोग भएको दाबी गरेका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बिहीबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन वैधानिक हुन नसक्ने निष्कर्ष निकालेको हो। बैठकले पार्टी नियमित १५औँ महाधिवेशनको कार्यतालिका अनुसार अघि बढ्ने निर्णय गरेको छ।

बैठकमा कार्यवाहक सभापति खड्काले प्रस्तुत गरेको प्रस्तावमाथि छलफलपछि २०८२ मंसिर १५ गते केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत रूपमा पारित महाधिवेशन कार्यतालिका कार्यान्वयनमा गइसकेकाले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको ठहर गरिएको हो ।

बैठकमा खड्काले नियमित महाधिवेशनको कार्यसूची घोषणा भइसकेपछि विशेष महाधिवेशन आवश्यक नरहेको बताए। उनले वर्तमान संवेदनशील अवस्थामा विशेष महाधिवेशन पार्टीको हितमा नभएको धारणा राखे।

तर महामन्त्री गगन थापाले विशेष महाधिवेशनका लागि सङ्कलन गरिएको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर र प्रस्ताव फिर्ता नहुने बताएका छन् । उनले विधानको कुन धाराले नियमित महाधिवेशन घोषणा भइसकेपछि विशेष महाधिवेशन नहुने व्यवस्था गरेको हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।

‘विधान अनुसार विशेष बोलाउनु पर्दैन भन्नु विधानको अपव्याख्या हो’, थापाले भने, ‘केन्द्रले नबोलाएको बेलामा विशिष्ट आवश्यकता महसुस गर्‍यो भने महाधिवेशन प्रतिनिधिहरूले हक स्थापित गरेको हो।’

उनले सदस्य हुने संस्थामा निश्चित प्रतिशत सदस्यले चाहेमा विशेष महाधिवेशन गर्ने व्यवस्था सामान्य अभ्यास भएको बताए। संवेदनशील अवस्थाकै कारण विशेष महाधिवेशन आवश्यक भएको थापाको भनाइ छ।

उनले भदौ २३ र २४ पछिको अवस्थाको समीक्षा गर्न, नीति र नेतृत्वमा पुनर्विचार गर्न विशेष महाधिवेशनको माग गरिएको बताए। थापाले विधान कार्यान्वयन गर्दा पार्टी विभाजनमा लैजान खोजिएको भन्ने भ्रम फैलाइएको पनि बताए।

उनका अनुसार विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भए विशेष महाधिवेशन बोलाउनै पर्ने बाध्यकारी व्यवस्था छ।

You may also like