दुग्ध क्षेत्रमा लुम्बिनी अगाडि, प्रदेशमै पाउडर प्लान्ट स्थापना हुँदै

by समतल अनलाइन
129Shares

बुटवल । लुम्बिनी प्रदेश दुग्ध उत्पादनका हिसाबले देशकै अग्रणी प्रदेशका रूपमा स्थापित हुँदै गएको छ । प्रदेशमै दूध पाउडर प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढेको जानकारी नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशले दिएको छ ।

नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन बिहीबार बुटवलमा सम्पन्न भएको हो । अधिवेशनमा प्रदेशका डेरी उद्योगको वर्तमान अवस्था, सम्भावना, समस्या र भावी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो ।

सभामा अध्यक्ष थानेश्वर न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशमा करिब २ सय डेरी उद्योग दर्ता भई सञ्चालनमा छन् । यसका साथै करिब १ हजार साना तथा घरेलु डेरी व्यवसाय सञ्चालन भइरहेका छन् । प्रदेशमा दैनिक करिब १५ लाख लिटर दूध उत्पादन हुने गरेको छ, जसको करिब आधा औपचारिक र आधा अनौपचारिक रूपमा खपत हुँदै आएको छ ।
दुग्ध क्षेत्रबाट करिब १ लाख परिवार प्रत्यक्ष रूपमा आश्रित रहेका छन् ।
दूधको व्यवस्थापन र बजार सन्तुलन कायम गर्न लुम्बिनी प्रदेशमै दूध पाउडर प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाइएको प्रतिवेदनमा उल्लेख छ । आगामी वर्ष स्थानीय सरकारसँग सहकार्य, डेरी उद्योगको स्तरोन्नति, तालिम सञ्चालन, उत्कृष्ट उद्योगी तथा किसानलाई पुरस्कार, गुणस्तर प्रवर्द्धन, निर्यात प्रवर्द्धन तथा लुम्बिनी प्रदेश दुग्ध विकास बोर्ड स्थापना गर्न पहल गर्ने लक्ष्य लिइएको छ ।
सभामा डेरी उद्योगमा प्रयोग हुने मेसिनरीमा भन्सार छुट, विद्युत महसुलमा सहुलियत, व्याज अनुदान, बिक्रीयोग्य स्टक धितोका आधारमा कर्जा सुविधा तथा डेरी प्राविधिक जनशक्ति उत्पादनका लागि सरकारसँग माग गरिएको छ । अध्यक्ष न्यौपानेले संघले किसान, उद्योगी र उपभोक्ताबीच सेतुको भूमिका निर्वाह गर्दै आएको बताए।

कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका प्रमुख रमेश आचार्यले कृषि तथा डेरी व्यवसायका लागि सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि संशोधन भई हाल ३ प्रतिशत ब्याजदर कायम गरिएको जानकारी दिनुभयो । योग्य व्यवसायीले सुविधा नपाएको खण्डमा राष्ट्र बैंकमा सम्पर्क गर्न आग्रह गर्दै, बिक्रीयोग्य स्टक धितोमा कर्जा उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल डेरी एसोसिएसनका पूर्व केन्द्रीय अध्यक्ष मेघराज भण्डारीले डेरी क्षेत्रबाट राष्ट्रिय कुल गार्हस्थ उत्पादन (जिडिपी) मा करिब ९ प्रतिशत योगदान, ६ लाखभन्दा बढी रोजगारी सिर्जना तथा वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व योगदान भइरहेको जानकारी दिनुभयो ।
केन्द्रीय सहकारी संघका केन्द्रीय सदस्य हरि काफ्लेले दूध उत्पादन क्रमशः घट्दै गएको भन्दै यही अवस्था कायम रहे गर्मी सिजनमा कच्चा दूधको अभाव हुन सक्ने चेतावनी दिए ।

नेपाल दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख कृष्णप्रसाद अर्याल, पत्रकार हरिष ढकाल तथा डेरी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विष्णु पाण्डेले दूध उत्पादन लागत घटाउन सके किसान र उपभोक्ता दुवैलाई लाभ पुग्ने धारणा राख्नुभयो ।
सभाको अवसरमा दुग्ध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका किसान, उद्योगी तथा सहयोगी व्यक्तित्वलाई कदरपत्रसहित सम्मान गरिएको थियो।

You may also like