बुटवल । शुद्धोदन गाउँपालिकाको १९औँ गाउँसभा बुधबारदेखि सुरु भएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाई विकासको मुख्य आधार बनाउँदै सुशासन र समृद्धिको लक्ष्यसहित गाउँसभा प्रारम्भ गरिएको हो।
गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले सभाको उद्घाटन गर्दै स्थानीय तहको दिगो विकासका लागि पारदर्शिता, उत्तरदायित्व र योजनाबद्ध कार्यान्वयन अपरिहार्य रहेको बताए । उहाँले सीमित स्रोतसाधनको प्रभावकारी उपयोग गर्दै जनताको आवश्यकता अनुसार नीति तथा कार्यक्रम अघि बढाइने उल्लेख गरे ।
गाउँसभामा विधान समिति संयोजक, गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष केशवप्रसाद अधिकारीले आर्थिक तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक–२०८२ पेश गरेका थिए। विधेयकले गाउँपालिकाको आम्दानी–खर्च प्रणालीलाई व्यवस्थित गर्दै वित्तीय अनुशासन कायम गर्ने उद्देश्य लिएको छ।
विधेयक प्रस्तुत भएपछि गाउँसभा अधिवेशन पुस ३० गतेसम्मका लागि स्थगित गरिएको छ। आगामी बैठकमा विधेयक तथा अन्य प्रस्तावहरूमाथि छलफल गरी आवश्यक संशोधनसहित पारित गरिने जनाइएको छ।



